२३ असाेज, काठमाडौँ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा बङ्गलादेशले बुद्ध विहार बनाउने भएको छ ।
नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय्याले आज लुम्बिनीमा बौद्ध विहार बनाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
त्यस अवसरमा राजदूत चौधरीले नेपाल र बङ्गलादेशबिच सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लुम्बिनीमा बौद्ध विहार बनाउन लागिएको र यसलाई बङ्गलादेश सरकारले उच्च प्राथमिकता दिएर काम अगाडि बढाउने बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय्याले लुम्बिनीसँग बङ्गलादेशको सम्बन्ध पुरानो भएको भन्दै सन् १९७२ मा गठित लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समितिमा समेत सदस्य राष्ट्रको हैसियतले बङ्गलादेशले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।