चुनाव चिह्नका कारण एमालेमै रहेको भन्ने होइन : घनश्याम भुसाल

चुनाव चिह्नका कारण एमालेमै रहेको भन्ने होइन : घनश्याम भुसाल

२४ असोज, काठमाडौं ।

नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले आफूहरुले एमालेको चुनाव चिह्नका कारण निर्वाचन जित्न सहज हुने भएर सोही पार्टीमा रहेको भन्दै हुने आलोचनालाई खण्डन गरेका छन्।

आइतबार पत्रकारहरुसँगको एउटा छलफलमा उनले आफूहरु सुरुदेखि नै एमाले विभाजनको पक्षमा नरहेको बताए।

’चुनावदेखि चुनावसम्म भनेर हामीले माधव नेपाललाई छोडेको होइन। चुनावका लागि वा चुनाव चिह्नको कारणले जित्न सकिन्छ भन्ने स्वार्थले पनि एमालेमै रहेको होइन। हामी सुरुआतदेखि नै एमाले विभाजन हुनुपर्छ भन्ने पक्षमा थिएनौं,’ उनले भने, ’हामीलाई कुप्रचार गरिएको हो।’

उनले २०७७ चैत ४ र ५ मा भएको राष्ट्रिय कार्यकर्ता भेलामा पनि आफूहरुले ’विभाजन पनि होइन, आत्मसमर्पण पनि होइन’ भनेको उनले स्मरण गरे। ’तर त्यहाँ विभाजन गर्नुपर्छ भन्ने साथीहरू पनि हुनुहुन्थ्यो। हामीले एमालेमा नै रहेर गर्नुपर्छ भन्यौं,’ उनले भने, ’माधव नेपालले बैठकको निर्णय उल्लंघन गरेर जानुभएको हो। हामी गएनौं।’

भुसालले वाम आन्दोलनको निर्णायक शक्ति एमाले नै भएको बताए। एमालेलाई सुधारेर अघि बढेमा सत्ता गठबन्धनले केही गर्न नसक्ने बताए।

भुसालले जबज भनेको चुनाव जित्नका लागि मात्रै भइरहेको बताए। ’नेपालको कम्युनिस्ट आन्दोलन २०६२÷०६३ देखि नै गोलचक्करमा फसेको थियो,’ उनको भनाइ छ, ’एउटा चुनाव जित्ने, फेरि अर्को चुनाव गर्ने। जनप्रतिनिधिले पद पाउने, पैसा कमाउने र ठूलो पद पाउने।’

जबजलाई सत्तामा जाने सिढी बनाएको तर त्यसलाई ठोस रुपमा कार्यान्वयनमा लैजान नसकिएको उनको भनाइ छ। सासमा रोजगारी, शिक्षा, स्वास्थ्य र सुसासनमा के गर्ने भन्ने कुरो महत्त्वपूर्ण भएको उनले बताए। ती विषयमा सफल भएपछि मात्रै समाज अगाडि बढ्यो कि बढेन भन्ने चित्र र मानक बन्ने उनले बताए।

भुसालले अहिले एमालेलाई नेकपाकै निरन्तरता पनि भन्ने र जबज पनि भन्ने कुरा नमिल्ने बताए। ’नेकपाको निरन्तरता भनेर फेरि जबजलाई नै अगाडि सार्न हुँदैन भन्ने हाम्रो कुरो हो। यस विषयमा छलफल गर्ने भनिएको छ,’ उनले भने।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नै दलाल पुँजीवादको व्याख्या गर्न थालेको भन्दै भुसालले आफूहरुले नवौं महाधिवेशनमा उठाएको विषय ओलीको राजनीतिक प्रतिवेदनमा समेटिएको बताए।

अहिले व्यक्ति केन्द्रित भएर पार्टी चलिरहेको छ। पार्टी संगठनात्मक परिपाटीमा चलोस् भन्ने हाम्रो कुरो हो,’ उनले भने।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.