२५ असोज, विराटनगर ।
गएको भदौ १० गते प्रदेश एकमा मुख्यमन्त्री नियुक्त भएलगत्तै अल्पमतमा परेका मुख्यमन्त्री भीम आचार्य समयमै विश्वासको मत नलिदाँ आलोचित छन् । सरकार चलाइरहेको नेकपा एमाले पार्टी विभाजनपछि अल्पमतमा परेको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । दल विभाजनले मान्यता पाएको ३० दिन २४ असोजमा नै पुगेको छ । यद्यपि अल्पमतमा परेको मिति कहिलेदेखि गणना गर्ने भन्ने चाँही आआफ्नै फरक तर्क रहेका छन् ।
यही बीचमा आइतबार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने समयलाई १२ दिनपछि धकेल्दा उनी अझबढि आलोचित हुन पुगे । आइतबार सभामुख प्रदिपकुमार भण्डारीले ५ कात्तिक सम्मका लागि बैठक स्थगित गरेपछि थप १२ दिन सम्मका लागि आर्चायको सरकारको आयु लम्बिएको हो । अल्पमतको जगमा नै सरकारले दशैं बनाउने भएको छ । प्रदेशसभा बैठक स्थगित गरेपछि विपक्षी दलहरूले भने सभामुख भण्डारी मुख्यमन्त्री आचार्यको सरकार टिकाउन सहयोगी बनेको आरोप लगाएका छन् ।
अल्पमतमा परेको सरकारको स्थायित्वका कुनै आधारहरु नदेखिरहेको अवस्थामा आफूमाथिको तिव्र आलोचनालाई वेवास्ता गर्दै मुख्यमन्त्री आचार्यले झनै विवादित राजनीतिक नियुक्ती गरेका छन् । कार्यकर्तालाई नियुक्ति दिन नै सरकारको आयु लम्ब्याएको आरोप विपक्षी दलहरुले लगाएका छन् । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकबाट मुख्यमन्त्री आचार्यले विभिन्न महत्वपूर्ण राजनीतिक नियुक्ती गरेका हुन् । जसमध्य प्रदेशकोे खेलकुद विकास बोर्डको सदस्य सचिवमा पर्शुराम बस्नेतलाई नियुक्त गरिएको विषयले अहिले प्रदेशको राजनीति तातेको छ । बस्नेत आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका र गुण्डा नाइकेसमेत भनेर परिचित छन् । उनी पत्रकार आक्रमण, गुण्डागर्दी र अकुत सम्पत्ती आर्जन आरोपमा मुद्दा खेपिसकेका विवादमा परेका व्यक्त्ति हुन् । यद्यपी आपराधिक गतिविधिबाट अकुत सम्पत्ति आर्जन गरेको आरोप पुष्टि हुन नसकेको भन्दै अदालतले उनलाई हालै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सफाइ दिएको थियो । बस्नेत आफूलाई राजनीतिकबाट हटाउन चाहानेहरुले विना आधारको आरोप लगाउदै मुद्धा दायर गरेको र यसमा आफूले जित हासिल गरेको बताउँछन् । उनी हाल नेकपा एमालेको प्रदेश कमिटी सदस्य छन्। बस्नेत एमाले अध्यक्ष केपी ओलीसँग निकट मानिन्छन् । सम्पत्ति शुद्धीकरणमा अदालतले सफाइ दिएपनि उनको पृष्ठभूमि खेलक्षेत्रसंग कहिँ कतै जोडिएको छैन ।
दजर्नौ खेल क्षेत्रसँग आवद्ध खेल बुझेका ब्यक्तिहरु हुदा हुदै प्रदेशको समग्र खेल क्षेत्रको भविष्य जोडिएको प्रदेश खेलकुद बोर्डका खेलकुदका हिसाबमा कखरामा समेत प्रवेश नगरेका बस्नेत लाई सदस्य सचिव बनाएको भन्दै सरकारको निणर्यका विरुद्धमा सामाजिक संजाल तातिएको छ । खेलकुदको गतिविधिमा असंलग्न व्यक्ति भए पनि प्रदेश सरकारले बोर्डको सदस्य सचिव नै बनाएपछि यसको चौतर्फी आलोचना गरिएको छ । यसअघि बस्नेतलाई शेरधन राईको सरकारले पनि नियुक्त गर्न खोजेको थियो । तर, तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरेले असहमति जनाएका कारण बस्नेतको नियुक्ति हुन सकेको थिएन। हाल सामाजिकविकास मन्त्री बलबहादुर साम्सोहाङ रहेका छन् ।
सदस्य सचिवमा बस्नेतसंगै आइतबारको बैठकले प्रदेश खेलकुद बोर्डको उपाध्यक्षमा पाँचथरका बाबा मेयाङ्वो, र सदस्यहरुमा भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारीलाई नियुक्त गरेको छ । उनीहरु सबै एमाले निकट हुन् । यस्तै आइतबारको बैठकले प्रदेश पर्यटन बोर्डका सदस्यहरु पनि नियुक्त गरेको छ । विराटनगरका फणिन्द्र अधिकारी, सुनसरीका देवी गौतम, सोलुखुम्बुका भीमराज राई, धनकुटाका उमेश घिमिरे, सुनसरीकी प्रेरणा थापा र झापाकी इन्दिरा श्रेष्ठलाई प्रदेश पर्यटन बोर्डको सदस्यमा नियुक्त गरिएको हो।यस्तै बैठकले प्रदेश श्रम सल्लाहकार समिति गठन गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। उपाध्यक्ष राजीव घिमिरे र सदस्यहरूमा भीम घिमिरे, सरोज श्रेष्ठ, सीता उपाध्याय, रञ्जु सिग्देल, किशोर धमला, अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, टिका प्रसाईं, निलम साह सोनारलाई नियुक्त गरेको छ।
शुक्रबारबाट सुरु प्रदेश सभाको ९ औं हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार बसेको थियो । तेस्रो बैठक सभामुखले कात्तिक ५ गतेसम्मका लागि स्थगित गरेका छन् । सो समयमा मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् । प्रस्ट अल्पमतमा परिसकेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई विपक्षी दलहरुले चेतावनी दिएपनि बेवास्ता गर्दै सरकारले एकपछि अर्को दुरगामी र महत्वपूर्ण निर्णय गर्दै गइरहेको छ । दसैँपछि भने मुख्यमन्त्री अचार्य नेतृत्वको सरकार ढल्ने निश्चित प्रायः छ । नयाँ सरकार बनेपछि अहिलेका राजनीतिक नियुक्तिहरु धरापमा पर्ने विपक्षी दलका नेताहरुले बताएका छन् ।