१६ वर्षदेखि अर्धचेत मुकेश: रोएरै बित्छन् कायस्थ परिवारको चाडपर्व

१६ वर्षदेखि अर्धचेत मुकेश: रोएरै बित्छन् कायस्थ परिवारको चाडपर्व

२९ असोज, काठमाडौं ।

१६ वर्षमा कस्ता चाडपर्व कति बिते शैंयामा सुतिरहने बनेपाका मुकेशलाई थाहा छैन । अर्धचेत अवस्थाका मुकेश चाडपर्वमा घर नजिकैको मावलीघर नटेकेको पनि उत्तिकै वर्ष बितिसकेका छन् ।

दोस्रो जनआन्दोलनमा बायाँ कञ्चटमा गोली लागेर गम्भीर घाइते छोरा मुकेशको स्वास्थ्य अवस्था राम्रो होला, बाबा–आमा भनेर बोलाउला भन्ने आशामा उनको स्याहार सुसारमा दिन रात नभनेको कायस्थ परिवारको आशा मरेको छैन ।

‘छोरा ठीक होला भन्ने आशा अझै मरेको छैन, तर मुकेश तीन वर्षदेखि दुब्लाउँदै गएको छ, पहिले जस्तो हाँस्न, बोल्न छाडेको छ, पीरमाथि पीर थपिरहेको छ’, आमा मीराले भनिन् । कसैले नाम लिएर बोलाउँदा ‘हँ ह, माँ’ भनेर बोल्न सक्ने मुकेश हाल बोल्न सकेका छैनन् भने उनको शरीर समेत दुब्लाउँदै गएको छ ।

परिवारका अनुसार मुकेश अहिले ३१ वर्षका भए । लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकोमा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ । ‘मुकेशले मुखबाट नखाएको पनि तीन वर्ष भइसक्यो’, बाबु कृष्णमानले भने । मुकेश हाल दायाँ हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्छन् ।

लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय मुकेश बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनदखि उनको होस् अझै खुल्न सकेको छैन भने बायाँ हात राम्रोसँग चल्दैन । गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो छ ।

छोराको विषयमा कुराकानी गर्दा मुकेशको बाबुआमा निकैबेर भक्कानिन्छन् । ‘दशैं–तिहारमा छिमेकका घरमा झिलीमिली गर्दै, परिवार र आफन्तसँग खुसियाली बाँडेको देख्दा मन निकै पोल्छ, कतै मेरो छोरोले आमा भन्देओस्’, मीरा दुखेसो पोख्छिन्, ‘दशैं नजिकिएको बेला मुकेश घरको छतमा चङ्गा उडाउँदै होला भन्ने झस्कना पस्छ ।’

मुकेश कायस्थ परिवारको एक्ला छोरा हुन् । ‘परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुने गरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, आफै मनन् गर्नुस् त ?’, बाबु कृष्णमान प्रतिप्रश्न गर्छन् ।

१६ वर्षदेखि अर्धचेत अवस्थाका छोरा मुकेशलाई सुतिरहेको हेरेर उनकी आमा मीरा भविष्यबारे सधैँ चिन्तित हुनु त दैनिकी नै भयो । अझै पनि छोराले नयाँ लुगामा सजिएर आमाबाबुसँग हाँसखेल गरेको देख्न पाउने, नपाउनेमा मीरा शंका गर्छिन् ।

‘दशैं–तिहारमा मुकेशलाई ओछ्यानमै टीका लगाई दिनु पर्दाको क्षण कम्ती पीडादायक हुन्न’, मीराले भनिन् । उनका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुने गर्छन् । कायस्थ दम्पत्ति मुकेशलाई हँसाउन खोज्छन् तर मुकेश बाबुआमाले खोजेको हाँसो दिन सक्दैनन् ।

‘हातगोडा नचले पनि कुरा गर्छ कि भन्दै बेलाबेलामा बोलाउँछु, मुकेश हाँस्न खोज्छ अनि हँ मात्रै गर्छ’, कृष्णमानले पनि आँशु झार्दै पीडा पोखे । आन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा आठमा पढ्दै थिए ।

मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि भन्ने आशामा छ कायस्थ परिवार। तर, देश–विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकोमा मर्माहत भएका छन् मुकेशका बाबुआमा । हाल मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्यबारे हेरिरहेका छन् । टाउकोमा जम्ने पानी निस्कने पाइप समयसमयमा बन्द हुने हुँदा समस्या भइरहेको चिकित्सकलाई उद्धृत गर्दै मीराले भनिन् ।

आन्दोलनका घाइते र शहीदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । कृष्णमानले भने, ‘आन्दोलनका घाइते र शहीदलाई सरकारले कहिल्यै भुल्नु हुन्न ।’ मुकेशको नाममा बनेपामा पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने उनीहरुको चाहना छ । तत्कालीन सरकारले मुकेशको उपचारका लागि रु १६ लाख सहयोग तथा बैंकको रु सात लाख ऋण मिनाहा गरिदिएको थियो ।

सरकारद्वारा जीवन–निर्वाह भत्तास्वरूप मासिक रु १६ हजार उपलब्ध हुँदै आएको छ भने एक स्वास्थ्यकर्मीलाई हेरचाहका लागि खटाइएको छ । मुकेशको नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ । प्रतिष्ठानले मुकेशका नाममा पुनःस्थापना केन्द्रका लागि प्रक्रिया थालिने जनाएको छ ।

दोस्रो अनआन्दोलनमा काभ्रेपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनका क्रममा नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भीमखोरीका शिवहरि कुँवर बनेपामा र नाग्रे गगर्चेका सुनिलकुमार लामा जोरपाटीमा मारिएका थिए । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.