रक्षामन्त्री रिजालले गरे सैनिक मुख्यालयको निरीक्षण भ्रमण

रक्षामन्त्री रिजालले गरे सैनिक मुख्यालयको निरीक्षण भ्रमण

३१ असाेज, काठमाडाैँ ।

रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आइतबार सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।

प्रधान सेनापति प्रभुराम शर्माले उनलाई जंगी अड्डामा स्वागत गरेका थिए । स्वागत मन्तव्यको क्रममा हालसम्म नेपाली सेनालाई नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त भईरहेको निर्देशन तथा सहयोगको लागि उनले हार्दिक आभार व्यक्त गरेका थिए ।

प्रधान सेनापति शर्माले रक्षामन्त्रीको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकिकरण र पेशागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका थिए ।

नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको विश्वास उनले व्यक्त गरे ।

भ्रमणका बेला उनले विविध विषयबारे जानकारी लिएको नेपाली सेनाले जनाएको छ । रक्षामन्त्री रिजालले सैनिक अधिकृतहरूलाई सम्बोधन गर्दै आफु रक्षा मन्त्रीमा नियुक्त भएकोमा गौरव महसुस गरेको बताएका थिए । सोही क्रममा उनले नेपाली सेनाले देश भित्र विपद व्यवस्थापन र कोभीड–१९ महामारी बिरुद्धको प्रतिकार्य तथा देश बाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।

आफ्नो कार्यकाल भरी राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिबृद्धिका लागि प्रयत्नशील रहने प्रतिबद्धता मन्त्री रिजालले गरे । नेपाली सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि हर सम्भव प्रयत्न गर्ने समेत उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.