१ कात्तिक, काठमाडौं ।
सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको युवा तथा खेलकुद मन्त्री महेश्वर गहराजले जानकारी दिए । उनले भने, ‘खेल क्षेत्रको विकासका लागि उहाँले गर्नु भएको प्रतिबद्धता अनुसार काम हुन नसकेपछि बर्खास्त गरेका हौं ।’
सिलवाललाई स्पष्टिकरणको मौका दिइएको र जवाफ सन्तोषजना हुन नसकेको मन्त्री गहराजले बताए । सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः नियुक्त गरेको थियो ।
ऐन अनुसार सदस्य सचिवका लागि आह्वान गरिएको आवेदनमा २७ जनाले निवेदन दिएका थिए । सिफारिस समितिले सिलवालका साथै अञ्जु श्रेष्ठ र लीलबहादसुर थापाको नाम सिफारिस गरेको थियो ।