२ कात्तिक, काठमाडौं ।
बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकार र आमरण अनसनरत रुबी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले आफ्नो अनसन स्थगित गर्ने भएकी छन् ।
मंगलबार बिहान गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमित भएसँगै अनसन स्थगित गर्न सहमत भएको हो ।
छानविन समितिमा आन्दोलनकारीको तर्फबाट मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहमद शेर बागवान पनि छन् । ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति बनेको जनाइएकाे छ ।
अनसनरत रुबीले बाँकेका एसपी श्यामकृष्ण अधिकारी लगायतलाई तत्काल सरुवा गर्नुपर्ने माग राखेकी थिइन् । गृहमन्त्रालयका अधिकारीहरुले भने दाषी देखिएकालाई कारबाही गर्ने र खानको मागप्रति सकारात्मक रहेको बताएका छन् ।
सहमतिबारे अहिले केहीबेरमा माइतीघर मण्डलामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने मानवअधिकारकर्मी मोहना अन्सारीले जानकारी दिइन् ।
सरकारले सोमबारदेखि आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेको थियाे । उक्त प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्जदेखि २० दिन पैदल हिँडेर काठमाडौं आएका अधिकारकर्मी र आफन्तले माइतीघरमा १२ दिनदेखि धर्ना दिइरहेका छन् भने आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खान ११ दिनदेखि आमरण अनशनमा छिन् ।