मौसम खराबीले बाढीपीडितको उद्धारमा कठिनाइ, सैनिक हेलिकप्टर धनगढीमै रोकियो

मौसम खराबीले बाढीपीडितको उद्धारमा कठिनाइ, सैनिक हेलिकप्टर धनगढीमै रोकियो

२ असाेज, काठमाडौं।

महाकालीको टापुमा फसेका पाँच जनालाई उद्धार गर्न गएकाे नेपाली सेनाको हेलिकप्टर धनगढीमै रोकिएको छ। मौसम खराबीका कारणले हेलिकप्टर अहिलेसम्म उद्धार गर्न जान सकेको छैन।

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले उद्धारका लागि हेलिकप्टर जान नसकेको बताए। उनले भने, ‘कञ्चनपुरसहितका क्षेत्रमा उद्धारका लागि काठमाडौंबाट गएको ठूलो हेलिकप्टर पनि धनगढीमै रोकिएको छ । सुर्खेतबाट उडेको सानो हेलिकप्टर उद्धारका लागि गए पनि मौसमको खराबीले फर्किएर धनगढीमै रोकिएको छ।’

धनगढीमा हेलिकप्टर तयारी अवस्थामा नै राखिएको भन्दै मौसममा सुधार आउनेबित्तिकै उद्धारमा खटिने उनको भनाइ छ। सेनाले बाढीका कारण नदीमा फसेका मानिसहरुको उद्धारका लागि प्रयास जारी राखेको उनले बताए।

कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा एकै परिवारका पाँच जना उद्धारको पर्खाइमा छन्। उनीहरू अहिले रूखमा चढेर ज्यान जोगाइरहेको प्रहरीले जनाएको छ।

कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका-९ मुसेट्टिका एकै परिवारका पाँच जना हिजो रातिदेखि फसेका थिए। बिहान ७ बजे उनीहरु फसेको जानकारी आएपछि उद्धारको प्रयास गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मुसेट्टिका ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीय शान्ति नायक, १० वर्षीय अजय नायक, चार वर्षीय सुरज नायक र ५० वर्षीया गौरी खड्का रुखको कापमा अडिएर बसेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.