विद्युतको सहज आपुर्ति पछि विद्युतीय चुल्होको माग बढ्यो

विद्युतको सहज आपुर्ति पछि विद्युतीय चुल्होको माग बढ्यो

२ कात्तिक, काठमाडाैँ ।

१८ घण्टासम्मको लोडसेडिङको मार खेपेका नेपालीका लागि अहिले माग गरे अनुशारको नियमित विद्युत आपूर्ति हुन थालेपछि मुलुकभर विद्युतीय चुल्होको प्रयोग बढ्न थालेको छ । केही वर्षअघिसम्म केही हजारको संख्यामा आयात हुने विद्युतीय चुल्हो अहिले लाखको संख्यामा पुगेको भन्सार विभागले जनाएको छ ।

इन्डक्सन र इन्फ्रारेड गरी दुई खाले विद्युतीय खाना पकाउने चुल्होको आयात बढेको विभागको भनाइ छ । पाँच वर्षअघि झण्डै २७ सयको संख्यामा आयात भएको यस्तो चुल्होको संख्या आर्थिक वर्ष २०७७–०७८ सम्म आइपुग्दा एक लाख ५२ हजारभन्दा धेरै छ । तथ्याङ्कअनुसार पाँच वर्षमा विद्युतीय चुल्होको आयात ५५ गुणाले बढेको छ । आर्थिक वर्ष ७३–७४ मा नेपालमा ९६ लाख ७ हजार रुपैयाँ बराबरको दुई हजार ७७४ थान विद्युतीय चुल्हो आयात भएको थियो ।

यसभन्दा अघिका वर्षहरूमा अत्यन्तै न्यून मात्रामा आयात हुने इन्डक्सन तथा इन्फारेड चुल्होको आयात त्यसपछिको एकाध बाहेकका वर्षहरूमा भने बढ्दै गएको भन्सार विभागको विवरणमा देखिन्छ । आब ७३–७४ को तुलनामा झण्डै दोब्बरले आव ७४–७५ मा विद्युतीय चुल्होको आयात बढेको देखिन्छ । उक्त आर्थिक वर्षमा १४ करोड ७८ लाख ८ हजार रुपैयाँ बराबरको ५ हजार ५९५ थान विद्युतीय चुल्हो आयात भएको थियो । आ.व. ७५–७६ मा खस्किएको विद्युतीय चुल्होको आयात ७६–७७ मा भने निकै बढेको थियो । आव ७५–७६ मा ५९७ थान आयात भएको यस्ता चुल्हो त्यसको पछिल्लो वर्ष दुई करोड ४८ लाख ९८ हजार रुपैयाँ बराबरको १० हजार ४३५ थान नेपाल भित्रिएको थियो । यस्तै आ.व. ७७÷७८ मा भने एक लाख ५२ हजार ५८८ थान विद्युतीय चुल्हो आयात भएको छ, जुन, अघिल्लो वर्षको तुलनामा १४ गुणाले बढी हो ।

चालु आर्थिक वर्षको दुई महिनामा ३ करोड रुपैयाँ बराबरको १३ हजार ३८ थान यस्तो चुल्हो आयात भएको देखिन्छ । शहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोगको असर ग्यासको बिक्रीमा देखिन थालेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । शहरमा ग्यास प्रयोगमा संकुचन आए पनि ग्रामीण क्षेत्रमा फैलिएको ग्यासको प्रयोग र खपतका कारण आयातमा भने कमी आएको छैन ।

खर्चका हिसाबले पनि ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो देखिएको छ । एलपी ग्यास, विद्युतीय चुल्हो र मट्टितेलबाट खाना पकाउँदा लाग्ने खर्चबारे इन्जिननियरिङ अध्ययन संस्थान पुल्चोकमा रहेको ऊर्जा अध्ययन केन्द्रले माघ २०७६ मा अध्ययन गरेको थियो । अध्ययनले ग्यासको तुलनामा विद्युतीय ऊर्जा प्रयोग गरेर खाना पकाउँदा ६० प्रतिशत सस्तो हुने देखाएको छ । नेपालको कुनै पनि शहर तथा गाउँ घरमा इन्डक्सन चुल्होबाट खाना पकाउँदा ५ जनाको परिवारलाई एक महिनामा ९ सय ९० रुपैयाँ खर्च लाग्छ । यो खर्च ग्यास भन्दा ४ सय ८८ रुपैयाँ र मट्टितेलभन्दा २५० रुपैयाँले कम पर्न जाने अध्ययनले देखाएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.