लमजुङ: बेमौसमी वर्षाका कारण बेसिशहर चामे सडक पुन अवरुद्ध भएको छ । आइतबार साँझदेखि परेको निरन्तरको अविरल वर्षाले बेसीशहर चामे सडकको विभिन्न ठाउँमा पहिरो जाँदा बेँसीशहर–चामे सडक पुन अवरुद्ध भएको हो ।
हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्डको नासो गाउँपालिकाको खोत्रो, बगरछाप, निगालघारी र चामेको कोतोमा सडक पहिरोले अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बताए । उनले भने ‘सोमबारदेखि बेसिशहर चामे सडक अवरुद्ध भएको छ । यस्तै तिमाङखोला र स्याल्कु खोलामा निर्माण गरिएको अस्थायी काठेपुल समेत बाढिका कारण भत्किएको छ ।
पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत गर्न नसक्दा बीच बाटोमै रोकिएका छन्। असार १ को बाढिले अवरुद्ध बेशिसहर चामे सडक आइतबार ४ महिनापछी संचालनमा आएको थियो । आइतबार संचालनमा आए पनि पुन सोमबारदेखि अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसगै दशै बिदा मनाउन तिलिचो र थोरङला पुगेका पर्यटक मौसम खराब भएसगै मनाङमै रोकिएका छन् ।
६५ किलोमिटरको बेंसीसहर–चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । सडक विभागले आ.व. ०५१-०५२ मा बेंसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । ०५२ मा निर्माण सुरु भएको सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्रयाक खोलेको थियो । यो सडक सेनाले ०६९ मा सडक विभागलाई हस्तान्तरण गरेयता स्तरवृद्धि हुन सकेको छैन ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।