३ कात्तिक, काठमाडौँ।
प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल उद्वार, राहत र पुनस्र्थापनाका लागि परिचालित हुन विपद् व्यवस्थापन परिषद्लाई निर्देशन दिएका छन् । बुधबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राहत र पुनस्र्थापनाका लागि बजेटको अभाव नहुने गरी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएका छन् ।
बैठकपछि गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘पछिल्लो ३ दिनमा जुन अकल्पनीय क्षति हामीले बेहोर्यौँ, त्यसमा तत्काल उद्वार, राहत र पुनस्र्थापनाका लागि अझै द्रूत गतिमा सबैजना परिचालित हुन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ, उहाँ आफैँ पनि फिल्डमा निस्किने भन्नुभएको छ । त्यही अनुसार सबैजना आवश्यकता हेरेर तुरुन्तै फिल्डमा पुग्ने निष्कर्षमा पुगेका छौँ ।’
प्रधानमन्त्री देउवाले ठूलो क्षति हुने गरी देशभर भएका बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर सेल्टर बनाउने, घरहरु पुनर्निर्माण गर्ने, राहत र पुनस्र्थापनाको कार्य गर्ने तथा धान बालीमा पुगेको क्षतिको विवरण आंकलन गर्ने र त्यसका आधारमा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
प्रवक्ता पोखरेलका अनुसार देशभर बाढी(पहिरो नरोकिएकाले क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन । उनले राहत र पुनस्र्थापनाका लागि छुट्टै कोषको व्यवस्था गर्ने तयारी रहेको बताए । बैठकले कृषि बालीमा पुगेको क्षतिको विवरण संकलनको कार्य कृषि मन्त्रालयले गर्ने गरी निर्देशन दिइएको पनि उनले जानकारी दिए ।