कोरला नाकामा पुग्यो बस

कोरला नाकामा पुग्यो बस

४ कात्तिक, जोमसोम ।

चीनको स्वशासितक्षेत्र तिब्बत र नेपालतर्फ उपल्लो मुस्ताङको सीमानाका कोरला नाकामा पहिलो पटक यात्रु बस पुगेको छ। बुधबार आन्तरिक पर्यटक लिएर मुस्ताङ मुक्तिनाथ यातायात प्रालिको ग १ ख ७३३४ नं. को बस पुग्दा उपल्लो मुस्ताङका स्थानीय दंग छन्।

बुधबार मुस्ताङ यातायात प्रालिले उपल्लो मुस्ताङमा बस सञ्चालन गर्नका लागि ट्रायल परिक्षण गरेको थियो। लोमान्थाङबाट कोरला नाकाको २४ नं सीमास्तम्भसम्म मुस्ताङ मुक्तिनाथ यातायातको बस पुगेको उपल्लो मुस्ताङका स्थानीय छिरिङ फेन्जो गुरुङले जानकारी दिए।

बसका चालक प्रकाश आले सडक स्तरोन्नति राम्रो भएको एकाध स्थानमा सडक स्तरोन्नति र मोटरेबल पुल निर्माण हुनेसके बाह्रै महिना बस चलाउन सकिने जानकारी दिए। उनले विगतको तुलनामा सडक अवस्थामा व्यापक सुधार भएको उल्लेख गरे।

उनले उपल्लो मुस्ताङमा पहिलो पटक यात्रुबाहक बस आएको र बस आउँदा स्थानीयबासी उत्साहित भएको बताए। बुधबार उपल्लो मुस्ताङ पुगेको बसका चालक तथा पर्यटकलाई स्थानीयबासीले खादा लगाएर सम्मानसहित स्वागत गरेका छन्।

बुधबार पहिलो पटक बस पुगेको र सो बस र बसका पर्यटकले कोरलानाकाको २४ नं. सीमास्तम्भमा फोटो खिचेको तस्बिरसमेत सामाजिक सञ्जालमा राखिएको छ ।

पल्लो मुस्ताङमा सहज रुपमा बस पुगेपछि उपल्लो मुस्ताङ र कोरलानाकासम्म पुग्न आन्तरिक पर्यटक र स्थानीयबासीले थप सुविधा हुने अपेक्षा गरिएको छ।

उपल्लो मुस्ताङमा विगत ३ वर्ष अघिदेखि हलुका फोर ह्वील जीप मात्र चल्ने गर्दथ्यो। पछिल्लो समय जोमसोम कोरला सडक स्तरोन्नति हुँदै जान थालेपछि उपल्लो मुस्ताङको यात्रासमेत सहज हुन थालेको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.