४ कात्तिक, काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले हाधिवेशन तोकिएको मितिमै हुने बताएका छन् । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी कमिटीको बैठकमा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।
उनले भने ‘हामी दशौं राष्ट्रिय महाधिवेशनतर्फ जाँदै छौं। हामीले महाधिवेशनको मिति तोकिसकेका छौं। र, मङ्सिर १०, ११ र १२ लाई हामीले मिति तोकेका छौं। तोकिएको निर्धारित मितिमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन हुनेछ। त्यसलाई अत्यन्त भव्यताका साथ सफलतापूर्वक सम्पन्न गर्नेछौं। त्यसको तयारीको सन्दर्भमा आजको बैठकमा विविध पक्षहरुमा छलफल गर्नेछौं ।’
त्यस्तै, महाधिवेशन आयोजना हुने स्थानको सन्दर्भमा आफूले विधान महाधिवेशनमा अन्यथा निर्णय भएमा बाहेक बुटवल भनेको बताउँदै उनले जहाँसुकै भए पनि संस्थागत निर्णय गर्नुपर्ने भएको र त्यस विषयमा पनि छलफल हुने बताए।
एमाले बैठकमा पाँच अजेण्डनमा छलफल हुने तय भएको छ । ती अजेण्डाहरुमा विधान महाधिवशेनको समीक्षा, वडा अधिवेशन (कात्तिक ६) का सम्बन्धमा, पालिका अधिवेशन (कात्तिक ९) का सम्बन्धमा, राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेश र हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति रहेका छन् ।