४ कात्तिक, धनुषा ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
भ्रष्टाचार गरेको भन्दै विहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश्वर कुशवाहामाथि अमानवीय व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
कुशवाहामाथि अमानवीय व्यवहार गरेको आरोपमा जनमत पार्टीका ६२ जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि बिहीबार मध्यान्न कार्यालयमा भाटासहित पुगेका जनमत पार्टीका दर्जनौं नेताकार्यकर्ताले कुशवाहालाई उनकै कार्यकक्षबाट बाहिर निकालेर कुटपिट गर्दै नालामा रहेको हिलो दलेर बजार घुमाएका थिए।
कुशवाहालाई कार्यालयबाट नियन्त्रणमा लिइ अर्धनग्न बनाएर बजार घुमाउने क्रममा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो। त्यसपछि पक्राउ परेकालाई रिहाईको माग गर्दै पार्टीका अन्य नेता कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका थिए। त्यही क्रममा थप ५२ जनालाई पक्राउ गरिएको डीएसपी बस्नेतले जनाए।
यसैबीच पार्टी अध्यक्ष डा. सिके राउतको सचिवालयले समाजिक सञ्जाल फेसबुकमार्फत भोलि शुक्रबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने जनाएको छ । पक्राउ परेका कार्यकर्ताहरूलाई यथाशिघ्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
जनमत पार्टीले फेसबुकमा लेखेको छ, ‘भोलि धनुषाको प्रहरी कार्यालय घेराउ हुने, गाउँ गाउँबाट उठौं घर घरबाट उठौं यो आन्दोलनलाई महिनौसम्म वारपार गरी जारी रहनेछ सबै जिल्ला तयार रहौं । पक्राउ परेका कार्यकर्ताहरूलाई यथाशिघ्र रिहा नगरे आन्दोलनको पुर्ण स्वरूप तिर जाने नेपाल पुलिस हेल्लो सरकार गृहमन्त्रालय ।’