५ कात्तिक, काठमाडौं ।
बागमती प्रदेशमा सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ ।
बिहीबार प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच प्रदेशसभाको कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।
प्रदेशसभाको आधा कार्यकाल एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा समर्थन गर्ने र बाँकी आधा कार्यकाल कांग्रेसका ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुने सहमति भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले जानकारी दिइन् ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीले प्रदेशसभाको कार्यकालको आधा–आधा समय एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिने सहमति भएको बताए ।
‘यो माथि (गठबन्धनको शीर्ष तहमै) नै टुंगिएर आएपछि हामीले गर्ने त्यही हो’ उनले भने, ‘माथिबाट आधा आधा कार्यकाल एकीकृत समाजवादी र कांग्रेसले लिने सहमति भएर आएको छ ।’
हाल बागमतीमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छिन् । अल्पमतमा रहेकी उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा विचाराधीन छ । अब उक्त प्रस्तावमा कात्तिक १० गते मतदान हुनेछ । प्रदेशसभाको कार्यकाल अब एक वर्ष र केही महिना बाँकी छ ।