५ कात्तिक, एजेन्सी ।
आइसिसी टि२० विश्वकप २०२१ मा स्कटल्यान्डले टेस्ट टोली बंगलादेशलाई पछि पार्दै पहिलो चरणको समूह बी को विजेता रुपमा सुपर १२ मा पुगेको छ । बिहीबार अल अमरेत क्रिकेट मैदानमा भएकाे समूह बी को अन्तिम खेलमा स्कटल्यान्डले घरेलु टोली ओमानलाई ८ विकेटले पराजित गर्दै सुपर १२ मा स्थान पक्का गराएको हाे ।
पहिलो चरणको समूह बी बाट स्कटल्यान्ड विजेता र बंगलादेश उपविजेता रहँदै सुपर १२ मा स्थान बनाएका छन् । जितको लागि १ सय २३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
स्कटल्यान्डको जितमा कप्तान काइल कोट्जर २८ बलमा २ चौका र ३ छक्का सहित ४१ रनकोे योगदान दिए । म्याथ्यु क्रस ३५ बलमा २६ रनमा अविजित रहे । रिची बेरिंगटन २१ बलमा १ चौका र ३ छक्का सहित ३१ रनमा अविजित रहे । ओपनर जर्ज मुन्शे १९ बलमा ४ चौका सहित २० रनमा क्याच आउट भए । ओमानका फैज बट र खवर अलीले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको ओमान २० ओभरमा १ सय २२ रनमा अल आउट भयो । ओमानका ओपनर अकिब इलायसले ३५ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३७ रन बनाए । जिशान मकसुदले ३० बलमा ३ चौका र १ छक्का सहित ३४ रन जोडे । मोहम्मद नदीम २५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाली मुलका विकेटकिपर सुरज कुमार ४ रनमा आउट भए । स्कटल्यान्डका जोश डेभीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । सफ्यान शरिफ र माइकल लस्कीले २–२ विकेट लिए ।
पहिलो चरणको समूह बी बाट स्कटल्यान्ड ३ खेलमा ३ मानै जितका साथ अपराजित रहँदै शीर्षस्थानमा रहँदै सुपर १२ को समूह बीमा स्थान पक्का गराएको हो । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहँदै सुपर १२ को समूह ए मा स्थान बनाएको छ । स्कटल्यान्डले सुपर १२ मा पहिलो खेल सोमबार अफगानिस्तानसँग खेल्नेछ । बंगलादेशले आइतबार समूह ए को विजेतासँग खेल्नेछ ।
सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता बंगलादेश रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता स्कटल्यान्ड र समूह ए को उपविजेता रहनेछन् ।
ओमान ३ खेलमा २ मा हार र १ मा जित सहित तेस्रो स्थानमा रहँदै बाहिरियो । पहिलो पटक टि२० विश्वकप खेलेको पपुवा न्युगिनी अंक बिहिन हुँदै पुछारमा रहेर बाहिरियो ।