विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्न प्रधानमन्त्रीको आग्रह

विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्न प्रधानमन्त्रीको आग्रह

५ कात्तिक, सुदूरपश्चिम।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

विहीबार साँझ धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले प्रदेशमा बाढीपहिरो र डुबान तथा नदी कटानको अवस्था गम्भीर देखिँदा आफू दुःखित भएको बताए ।

बाढी पहिराबाट सुदूरपश्चिमका अलावा देशका पूर्वी भेगका जनतासमेत पीडित बनेको उल्लेख गर्दै उनले भने, ’बाढीपहिराबाट पीडितलाई राहत प्याकेज उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गरेको छ, काठमाडौँ पुगेपछि उपलब्ध गराइने राहतका बारेमा थप छलफल गरिने छ ।’

प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले पनि कोरोनाका जोखिम नहटिसकाले यो रोगको रोकथाममा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, ’नेपालले कोरोनाविरुद्धको खोप लगाउने काममा पाएको सफलताप्रति विश्व स्वास्थ्य सङ्गठनले सरकारको प्रशंसा गरेको छ ।’

उनले जनतालाई कोरोनाविरुद्धको थप खोपको व्यवस्थापन भइरहेको पनि बताए । प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले विपत्तिको बेला जनतालाई व्यवस्थित र सही ढङ्गले राहत उपलब्ध गराउनुपर्ने बताए ।

उनले कर्णाली नदीमा आएको बाढीको वितण्डाले तटबन्धन भत्काइ टीकापुर नगरपालिका र जानकी गाउँपालिका क्षेत्र नराम्रोसँग प्रभावित भएको भन्दै गम्भीर हुन आग्रह गरेका थिए ।

कार्यक्रमका वक्ताले वर्षापछि कैलालीमा भएको डुबान तथा कटानको विकराल समस्याले किसानको हजारौँ विगहामा लगाइएको धानबाली नष्ट भएको भन्दै पीडित किसानलाई नेपाल सरकारले उचित राहतको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

प्रधानमन्त्री देउवा वर्षासँगै उत्पन्न बाढीपहिरो, डुबान, नदी कटानबाट डोटी , बझाङ, बैतडी, डडेलधुरा र कञ्चपुरमा भएको क्षतिको निरीक्षण अवलोकन गरी साँझ धनगढी पुगेका थिए । प्रधानमन्त्री नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्री एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायरलगायत सहभागी थिए ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.