५ कात्तिक, धनगढी।
प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै प्रतिनिधि सभाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पास हुने बताएका छन्। बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन् ।
बेमौसमी वर्षाका कारण आएको बाढी-पहिरोबाट क्षति भएको सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको स्थलगत अवलोकनका क्रममा धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा देउवा सहभागी भएका थिए ।
त्यस क्रममा पत्रकारले राखेको जिज्ञासामा देउवाले भने, ‘एमसीसी पास हुन्छ। यो ठूलो अनुदान हो, ऋण होइन।’ एमसीसी नेपालको कानुनभन्दा माथि नरहेको दाबी गर्दै प्रधानमन्त्री देउवाले यसबारे झुटा प्रचार भइरहेको आरोप पनि लगाए। ‘यो नेपालकै कानुनअनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ, तर त्यो पनि चाहिएन भन्छन्’, उनले आक्रोश पोखे, ‘हद भइसक्यो ।’
सुदूरपश्चिमका डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा वाढी-पहिरोले पारेको क्षति बुझेर धनगढी पुगेका देउवाले बाढीपहिरो पीडितलाई तत्कालीन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताए। उनले बेमौसमी वर्षातले सुदूरपश्चिमको अवस्था भयावह भएकोले आफु दुःखी भएको पनि बताए ।
फरक प्रसंगमा उनले सुदूरपश्चिम प्रदेश लगायतका सरकार परिवर्तनका विषयमा गठवन्धनले आवश्यक निर्णय गर्ने उल्लेख गरे। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेसको महाधिवेशन सम्वन्धी काम निर्वाचन समितिले निर्णय गरे बमोजिम हुने बताए ।
प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले लगायत रहेका छन् ।