५ कात्तिक, काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाँणले बोलीचालीको भाषामा सम्मानार्थी शव्द प्रयोग गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
उनले तीनै सुरक्षा निकायलाई संगठनमा जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग निर्देशन दिएका हुन् । मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।
नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको बताए। ‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने, ‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन। ‘सम्मानार्थी’ शव्द प्रयोग गर्नुपर्छ ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका माथिल्लो पदकाले तल्लो पदकालाई प्राय ‘तँ’ भनेको सुनिन्छ । मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अब सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाँणले दिएको उनको सचिवालयले जनाएको छ ।