५ कात्तिक, कञ्चनपुर ।
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले उल्टै पीडितलाई हप्काएका छन् । बिहीबार हेलिकोप्टरमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच बज्नै लाग्दा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।
सो कार्यक्रममा सम्बोधनका क्रममा उनले एक पीडितलाई हप्काएका हुन् । प्रधानमन्त्री देउवा सम्बोधन गर्न थालेपछि मञ्चको अगाडि बसेका एक पीडित युवाले गुनासो गर्दै भने, ‘सुनिएन प्रधानमन्त्रीज्यू, अलि ठूलो स्वरमा बोलिदिनुस् न ।’ प्रधानमन्त्री देउवा त्यतिमै जंगिए र भने, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस् ।’ प्रधानमन्त्रीले माइकबाटै हप्काएपछि ती युवा चुपचाप बसे ।
करिब १३ मिनेट कार्यक्रममा बसेका उनले सम्बोधनको क्रममा भने, ‘बाढीपहिरोले देशभर पीडा दिएको छ । धेरै धनजनको क्षति भएको छ । यो टोली काठमाडौं फर्किएपछि सरकारले राहत र पुनस्र्थापनाको प्याकेज ल्याउँछ, पीडितको पीडा सम्बोधन गर्छ । कटान, पटान, डुबान क्षेत्रका जनताको समस्या समाधान गर्न सरकार तयार छ ।’
यति भनिसकेपछि ‘अबेर भइसक्यो, अब म लागेँ’ भन्दै प्रधानमन्त्री विद्यालय प्रांगणमै रहेको हेलिकोप्टर चढेर कैलालीको धनगढीतर्फ लागेका थिए।