५ कात्तिक, विराटनगर ।
बेमौसमी वर्षाका कारण आएको बाढीले डुबानमा परेको विराटनगर विमानस्थल संचालनका लागि सपाइ सुरु भएको छ । बाढी पसेर मंगलबारदेखि उडान अवरुद्ध भएको विराटनगर विमानस्थल भोली (शनिबार)देखि सञ्चालन हुने तयारी भइरहेको छ ।
विमानस्थल शनिबार बिहानसम्म सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए । बिहीबार मौसम खुलेर घाम लागेपछि पानी घटे पनि अझै सबैतिर पानी कम नभएको र सरसफाइको काम पनि जारी रहेकोले शुक्रबार साँझ ५ बजेसम्मका लागि विमानस्थल बन्द गरिएको उनले बताए ।
उनले भने, ‘पानी घटिसकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको छ । त्यस्तो कुनै समस्या आएन भने भोलि (शनिबार) बिहानसम्म नियमित उडान भर्ने तयारी गरेका छौँ ।’
बाढीले गर्दा पार्किङ गरेर राखिएका बुद्ध एयरको एक र श्री एयरलाइन्सको एकवटा जहाज धावनमार्ग मै डुबानमा परेका थिए । ती जहाज भने बिहीबार साँझ यात्रुविनै काठमाडौं पठाइएको छ । विमानस्थल चार दिनसम्म अवरुद्ध हुँदा दैनिक एक हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् ।
मंगलबार दिउँसो ४ बजेपछि उडान अवरुद्ध हुन पुगेको यो विमानस्थल परिसर र धावनमार्गमा बाढी पसेपछि बुधबारदेखि पूर्ण रूपमा बन्द भएको थियो ।