सिके राउतका १७ कार्यकर्तामाथि ‘आपराधिक उपद्रव’ मुद्दा

सिके राउतका १७ कार्यकर्तामाथि ‘आपराधिक उपद्रव’ मुद्दा

५ कात्तिक, जनकपुर ।

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई  दुव्र्यवहार गर्ने जनमत पार्टीका कार्यकर्ताविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । सीके राउत नेतृत्वको पार्टीका १७ जनाविरुद्ध प्रहरीले शुक्रबार आपराधिक प्रवेश र आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा चलाएको हो ।

कुशवाहालाई दुव्र्यवहार गर्ने १७ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्नेमा अधिकांश सिरहा, सर्लाही र महोत्तरीका रहेका छन् ।

मुद्दा दर्ता गरिएकामा जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेशकुमार यादव, अमरनाथ साह र सुन्दर छन् ।

‘यो मुद्दामा अधिकतम ४ वर्ष कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ,’ जिल्ला प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले भने । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष सिके राउतको बसोबास रहेको घरछेउको सडकमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कार्यकर्ताले कुशवाहामाथि  कुटपिट गरी हिलो छयापेर नगरपरिक्रमा गराएका थिए ।

घटनामा संलग्न आरोपमा प्रहरीले सुरुमा १० जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई रिहा गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयअगाडि राउतका कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि थप ५२ जनालाई पक्राउ गरिएको थियो । डीएसपी बस्नेतका अनुसार अनुसन्धानपछि १७ जनामाथि मुद्दा दर्ता गर्ने र अरूलाई छोड्ने निर्णय भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.