५ कात्तिक, जनकपुरधाम ।
सीके राउत नेतृत्वकाे जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा सरसफाई व्यवस्थापन प्रमुख इ. राजेश कुशवाहालाई दुर्व्यवहार गरेको भन्दै इन्जिनियर एशोसिएसनले जनकपुरधाममा विरोध प्रदर्शन गरेकाे छ ।
इन्जिनियरहरूले हिजै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई भेटेर दाेषीमाथि कारबाही नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका थिए । घटनाकाे विराेधमा आज उनीहरूले टाउको र हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
इन्जिनियरहरुले जिल्ला प्रशासन कार्यालय अगाडि सिके राउतविरुद्ध नाराबाजी पनि गरेका छन् । इ. गोविन्द यादवले भने, ‘अपराधिक गतिविधिमा संलग्न जनमत पार्टीका कार्यकर्तालाई कारबाहीकाे माग राख्दा सुनुपाइ नभएपछि हामीले आन्दोलन गरेका हौँ । हामीले डा. सीके राउतको इन्जिनियर सदस्यता पनि खारेज गर्न माग गरेका छाैँ ।’
बिहीबार सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरका निमित प्रमुख कुशवाहालाई कुटपिट गर्दै अर्धनग्न बनाएर नगर परिक्रमा गराएका थिए ।