प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका सार्वजनिक

६ कात्तिक, लन्डन।

प्रधानमन्त्री शेरबहादुर देउवाको ५ दिने बेलायत भ्रमण तालिका सार्वजनिक भएको छ। २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण जान लागेको प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुँदैछन् ।

नेपाली दूतावास लन्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतस्थित मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्दै छन् ।

अक्टोबर २९ तारिख, शुक्रबार साँझ लन्डन उत्रिने तयारीमा रहेका प्रधानमन्त्री देउवाले अक्टोबर ३० तारिख बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ। नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार प्रधानमन्त्री देउवाले यहाँ स्थित नेपाली काँग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैर आवासीय नेपालीसँग छुट्टै अन्तरक्रियासमेत गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवा ३१ तारिख आइतबार साँझ लन्डनबाट समिट आयोजना हुने ग्लास्गो सहर प्रस्थान गर्ने भ्रमण तालिका तय भएको छ। प्रधानमन्त्री देउवा, वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादवसहित २० जनाको टोली सो समिटमा भाग लिन नोभेम्बर १ र २ तारिख ग्लास्गोमा रहने छ ।

देउवाले समिटमा विश्वमा तीव्र गतिमा हुँदै गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्नेछन्। प्रधानमन्त्रीको टोली ३ नोभेम्बरका दिन ग्लास्गो सहरबाट नेपाल फिर्ता हुने कार्यक्रम तय भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.