७ कार्तिक, काठमाडौं ।
डोल्पामा आज (आइतबार) दिउँसो सवा ४ बजे जिप दुर्घटना हुँदा चालकसहित नौजना घाइते भएका छन्।
दुनै बजारबाट त्रिपुरासुन्दरी नगरपालिका–१ सुपाने जाँदै गरेको भे१ज ९७५ नम्बरको जिप ठूलीभेरी नगरपालिका–९ भित्ती भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
घाइते हुनेमा डोल्पाको ठूलीभेरी नगरपालिका–९ का जिप चालक २० वर्षीय जुकोष शाही, मकवानपुरको हेटौंडा नगरपालिका–९ का ३८ वर्षीय विष्णु श्रेष्ठ, अशोक सारू मगर, ३१ वर्षीय जीवन शर्मा, वडा ११ का २२ वर्षीय बुद्धवीर लामा, वडा ४ का ३९ वर्षीय सुरेश श्रेष्ठ, रमेश गौतम, वडा १ का ३६ वर्षीय सुशीलराज गिरी, वडा ७ का ३८ वर्षीय किरण अधिकारी रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घाइते सबैको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ।
स्टेयरिङ फेल हुँदा जिप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।