मिथिलाका बासिन्दालाई दीपावली र छठको चटारो

मिथिलाका बासिन्दालाई दीपावली र छठको चटारो

८ कार्तिक, महोत्तरी ।

दसैँ पर्व भर्खरै सम्पन्न गरेका मिथिला क्षेत्रका बासिन्दालाई दीपावली र छठ पर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा ती पर्वमा गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ ।

गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्वविशेषसँग जोडिएका थप काम पाइने भएपछि यी पर्व खास अवसरसमेत बन्ने गरेका हुन् ।

किसानका घर करेसाबारीमा लगाइएका फूल, अदुवा, ज्यामिर र केरालगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् । दीपावली पर्वमा व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजास्थल सजाउन केराका थामबाट द्वार बनाउने चलन छ ।

यस प्रयोजनका लागि घरकरेसामा रहेका केराका कोथा (नयाँ हुर्केका बिरुवा) बेचेर नै गरिब किसानले राम्रो आर्जन गर्ने अवसर पाउँछन् ।

‘खासमा केराको झ्याङ्मा प्रतिझ्याङमा तीन भन्दा बढी बोट राख्नुहुँदैन, बढी भएका कोथा ९केराका भर्खरै बढेका बोट छ्याँसेर (उखालेर) फ्याँक्नु पर्छ’ बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान रामविनोद महतो भन्छन्, ‘यो कोथा छ्याँस्ने काम हामी दीपावलीको मुखमा गर्छौ, सबै फालिनु पर्ने कोथाको मूल्य पाइन्छ ।’ केराका थामका लागि केही दिन पहिले नै लिनेदिनेले कुरा पक्कापक्की गर्ने यहाँको चलन छ । लक्ष्मीपूजाको एक दिन पहिले त चोकबजारमा केराका थामको बजार नै लाग्ने गरेको छ ।

केरा फल र कोथा दुवैको माग हुने दीपावली र केराका घरी नै छठ पर्वमा कतिपयको भाकल हुने गर्छ । दीपावली र छठ सँगसँगैजस्तो पर्नाले यी पर्वमा केराको खपत निकै बढ्ने गरेको छ ।

यसबाहेक ज्यामिर, बोटसहित उखालिएको अदुवा, पातसहितको उखु पनि ती पर्वका पूजा सामग्री हुन् । थोरै जग्गा हुने गरिब किसानले आफ्नो घर करेसामा लगाएका यी वनस्पतिबाट पर्वका अवसरमा राम्रो आर्जन गर्ने गरेका छन् ।

यस्तै अरु बेला दैनिक प्रयोजनमा प्रयोग गर्न छाडिएका बाँसका डाला, छिटी, नाङ्ला, चाल्नु र अन्य चोयाबाट बन्ने सामग्री र माटाका भाँडा कलश राख्ने गाग्रो, दही जमाउने छ्याँची, प्रसाद सामग्री राख्ने तौला र दीयो बाल्ने दियौरी (पाला) दीपावली र छठ पर्वका खास सामग्री हुन् ।

अरुबेला यस्ता सामानको बिक्री हुन छाडे पनि यी पर्वमा बाँसको चोयाका सामग्री बुन्ने डोम र विन एवं माटाका भाडा बनाउने कुमाल जाति समुदायको निकै व्यस्तता बढ्ने गरेको छ । दुबै पर्व को आर्जनले वर्षभरिको नगद जोहो गर्नुपर्ने हुँदा अहिले आफ्नो सीपको खास अवसर भएको यी जाति समुदायका गरिब बताउँछन् । पर्वमा घर रङ्रोगन गर्ने सीपका कामदारको पनि माग ह्वात्तै बढ्ने गरेको छ ।

दीपावलीको पक्ष सुरु भए पनि पर्व लाग्न अझै ९–१० दिन बाँकी छ । यद्यपि पर्वमा माग हुने कृषिउपज र बनाइने अन्य सामग्रीबारे सोधखोज र चासो बढेको छ । पर्वका सामग्री किन्ने उपभोक्ताले यस्ता सामग्री खोज्ने, किन्ने र दामकाम पक्कापक्की गर्न थालेका देखिदो छ ।

यसपालि लाग्दो कात्तिकको बेमौसमी वर्षाले धानबाली र अन्य तरकारीबाली निकै क्षति गरेपछि पिरोलिएका किसान अहिले पर्वविशेषमा महत्व पाउने आफ्ना कृषिउपज (अदुवा, उखु, ज्यामिर, केराआदि) बेचेर पर्व टार्ने धुनमा देखिन्छन् ।

‘आफ्नो त खासै जग्गा छैन हजुर, घर छेउको करेसाबारीमा थोरै अदुवा सपारेकी छु, एउटा बोट ज्यामिर लटरम्म फलेको छ’, भङ्गाहा नगरपालिका–४ रामनगरकी गरिब किसान मञ्जु कापर भन्छन्, ‘दिवालीमा यिनै उपज बेचेर आफ्नो पर्व खर्च जुट्ने विश्वासमा छु ।’

करेसाबारीको दुई–तीन धुर जग्गामा उखु पनि रहेको र पर्वमा उखुका लाँक्रा बिक्ने गरेको हुँदा दिवाली, छठ सहजै टार्ने उनको विश्वास छ ।

हिन्दू वैदिक परम्पराका दीपावाली र छठ पर्व कृषिसँग अभिन्न रुपले जोडिएका यस भेगका पाका मैथिल बताउँछन् । मुख्य खेती अन्नबाली लगाउने समय सकिएको र नयाँ बाली धान भित्र्याउने समयअघि पर्ने यी पर्व धनी गरिब सबैका लागि खुसीको अवसर हुने जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.