८ कात्तिक, काठमाडाैँ ।
गायिका समीक्षा अधिकारीसँग नाम जोडेर मिडियामा विभिन्न खाले गसिप बनेपछि अभिनेता पल शाहले आपत्ति जनाएका छन् । उनले सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै मिडियामा आएका गलत समाचारले आफू दुखी भएको बताएका छन् । उनले समीक्षासँगको मित्रता र सहकार्यलाई अनेक शिर्षक दिएर सिंगो पत्रकारितालाई बदनाम गर्ने र आफूहरुको चरित्रहत्या हुने कार्य नगर्न पनि आग्रह गरेका छन् ।
समिक्षा अधिकारीसँग सांगीतिक सहकार्य मात्र रहेको उल्लेख गर्दै पलले लेखेका छन्, ‘जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति र समूह कहिँ न कहिँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ । मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।’
पल शाह अगाडि लेख्छन्, ‘हुँदै नभएका, गर्दै नगरिएका, विना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथी आँच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दु:खी बनाएको छ । यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाउनुहुन मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु ।’
आफूले जानेर नजानेर कसैको चित्त दुखाएको भए पनि उनले उक्त पोस्टमार्फत माफी मागेका छन् । आइतवार समीक्षाले पनि फेसबुकमार्फत् पल शाहसँग अनैतिक सम्बन्ध नरहेको स्पष्टिकरण दिएकी थिइन् ।
उनले लेखेका छन् :
नमस्कार
देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शक श्रोता ज्युहरूमा हार्दिक सम्मान अनि धेरै माया। विगत केही दिन देखी मेरो र गायिका समीक्षा अधिकारीको विषयमा आइरहेका समाचार बाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दीर्घ नै दुखी बनेको महसुस हामीले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही ब्यक्ती समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेसा र बिधाका कारण म धेरै मान्छेहरू सँग सहकार्य गर्नुपर्ने हुन्छ र म सँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। अरू कलाकारहरू सँग जस्तै र अरूले जस्तै साङ्गितिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाहरुलाई विदितै छ। हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरूलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्तिगत जीवन माथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुखी बनाएको छ। यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मी ज्युहरूलाई हार्दिक अनुरोध गर्दछु।मैले सधैँ दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्ट मार्फत हार्दिक माफी माग्दछु।गायिका समीक्षा अधिकारी र मेरो बिचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानाम शीर्षक दिएर सिङ्गो पत्रकारिता लाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला ।धन्यवाद
– हजुरहरूको पल शाह