९ कात्तिक, एजेन्सी ।
स्पिनरद्वय मुजिब उर रहमान र राशिद खानले ९ विकेट लिएपछि स्कटल्यान्ड टि२० विश्वकपको सुपर १२ अन्तर्गत पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको छ । सोमबार शारजाहमा भएको खेलमा अफगानिस्तानले स्कटल्यान्डमाथि १ सय ३० रनको सानदार जित हासिल गरेको हो ।
जितका लागि १ सय ९१ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्ड १०.२ ओभरमा मात्र ६० रन जोड्दै अलआउट भयो । ओपनर जर्ज मुन्सेले १८ बलमा २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । स्पिनर मुजिब उर् रहमानको बलिङसामु स्कटल्यान्डको ब्याटिङ क्रम धराशायी भएको थियो । मुजिबले शीर्ष ४ ब्याट्सम्यानसहित कुल ५ विकेट लिएका थिए । राशिदले पनि तल्लोक्रमका ४ ब्याट्सम्यानलाई आउट गरे ।
कप्तान काइल कोट्जरलाई मुजिबले चौथो ओभरमा बोल्ड गर्दै सुरु भएको विकेट पतन लगातार जारी रहेको थियो । २८ रन जोड्दा कोट्जरलाई गुमाएको स्कटल्यान्डले त्यसपछि २ रन जोड्दा ४ विकेट गुमायो । क्यालम मक्लोड, रिची बेरिङटन र म्याथु क्रस लगातार खाता नखोली आउट भएका थिए ।
मुनसे पनि २५ रन जोड्दै मुजिबको बलमा बोल्ड भए । त्यसपछि राशिदले माइकल लिस्क (०), क्रिस ग्रिभ्स (१), जोस डेभि (४) र ब्राड व्हिल (०) लाई पेभेलियन फर्काएका थिए । मुजिबले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । राशिदले २.२ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । नविन उल हकको नाममा १ विकेट रहयो ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन जोडेको थियो । मध्यक्रमका ब्याट्सम्यान नाजिबुल्लाह जद्रानले आक्रामक अर्धशतक प्रहार गरेका थिए । इनिङको अन्तिम बलमा आउट हुनुअघि उनले ३४ बलमा ५९ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।
गत महिना नेपालमा सम्पन्न इपीएल खेल्न आएका मोहमद शाहजाद र रहमानुल्लाह गुर्बाजले पनि आक्रामक ब्याटिङ गरे । ओपनर शाहजादले १५ बलमा २ चौका र १ छक्कासहित २२ रन जोडे । गुर्बाजले १ चौका र ४ छक्काको मदतले ३७ बलमा ४६ रनको योगदान दिए । अर्का ओपनर हज्रतुल्लाह जजाईले ३० बलमा ३-३ चौका र छक्कासहित ४४ रन जोडेका थिए । स्कटल्यान्डका लागि सफ्यान सरिफले २ विकेट तथा जोश डेभि र मार्क वाटले १-१ विकेट लिए ।
यस जितसँगै अफगानिस्तान समूह २ को शीर्षस्थानमा उक्लिएको छ । यसअघि आइतबार पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै २ अंक जोडेको थियो । अर्को समूहमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई, अष्ट्रेलियाले दक्षिण अफ्रीकालाई र बंगलादेशले वेस्ट इन्डिजलाई पराजित गरेका थिए ।