९ कात्तिक, चितवन ।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् ।
मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै दाहालले प्रधानन्यायाधीश सम्बन्धी विवाद एक/दुई दिनभित्रै टुंगिने बताएका छन् ।दाहालले भने, ‘हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्यौं । अब पाँचै दल बसेर एक/दुई दिनभित्रै एउटा विन्दुमा पुग्छौं ।’
गजेन्द्र हमाललाई मन्त्री नियुक्तिको विषयलाई लिएर विवाद सुरू भएको र राजीनामा दिए पनि विवाद चर्किरहेको उनले बताए । ‘मैले यहीँ आएर पनि बोलेको थिएँ, उहाँ कांग्रेसकै कोटाबाट मन्त्री हुनुभएको हो । म बोलेर गएँ, उहाँले राजीनामा दिनुभएछ,’ उनले भने, ‘नयाँ परिस्थिति बनेको छ, एक-दुई दिनमै सत्ता गठबन्धनले योबारे धारणा सार्वजनिक गर्नेछ ।’