वर्षाले पाकेको मार्सीधान नष्ट

वर्षाले पाकेको मार्सीधान नष्ट

१० कार्तिक, जुम्ला ।

अत्यधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सीधान नष्ट गरेको छ। मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा भएपछि सबै नष्ट भएको हो।

तिला र हिमा नदी छेउछाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधानका खेतमा बाढी पसेपछि ठूलो मात्रामा धान क्षति भएको छ। तातोपानीबाट पानसय क्षेत्र र कुडारी हुँदै नुवाकोट क्षेत्रमा भारी वर्षा र बाढीले मार्सीधानका खेत डुबाएको स्थानीयवासीले बताएका छन्।

मार्सीधानको उद्गमस्थल मानिने लाछु ज्यूलाको आधा भागमा बाढी आएको र ठूला–ठूला काठका पुलसमेत बगाएर ल्याएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए।

लाछुज्यूलाको बीचभागमा बाढी पसेपछि मार्सीधानमा क्षति पुगेको छ। तातोपानी गाउँपालिका–४ हाँकु क्षेत्रको ठाँटाज्यूलामा समेत मार्सीधान नष्ट भएको स्थानीयवासी देवीप्रसाद पाण्डेले बताए।

यहाँका किसानको ५० देखि ६० मुरीको खेतमा उत्पादन हुने धानको फाँटमा नदी बगिरहेको छ। तिला गाउँपालिका–४ का प्रेमबहादुर शाहीका अनुसार वर्षाले सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेती र पुलसमेत बगाएको छ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाका अनुसार जिल्लाभर दुई हजार ९०० हेक्टरमा धान फल्छ। करिब १३ हेक्टरमा लगाएको मार्सीधान बाढीले बगाएको छ।

पाँच हेक्टर खेत डुबानमा परेको छ। जिल्लामा ९०० हेक्टरमा धान काट्न बाँकी रहेको देवकोटाले बताए। रातीमार्सी धान फल्ने सिंजा क्षेत्रमा धान डुबानमा परेर बिग्रेको छ। (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.