नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, साउन १८
अठारौँ एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेको छ । थाइल्याण्डमा रहँदा नेपाली टोलीले दश दिन बन्द प्रशिक्षण गर्नेछ । सो अवधिमा थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल्न खेल्नेछ ।

प्रशिक्षणका क्रममा टोलीले यही साउन २२ गते थाइल्याण्डको पुलिस टेरोसँग र साउन २५ गते थाइल्याण्डको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फूटबल संघ (एन्फा) ले जनाएको छ ।

थाइल्याण्डमा १० दिन अभ्यास गरेपछि एसियाली खेलकूदमा भाग लिने २० सदस्यीय नेपाली यू–२३ टिम इण्डोनेसिया प्रस्थान गर्नेछ । एसियाली खेलकूदको फूटबलतर्फको प्रतिस्पर्धा साउन २९ देखि शुरु हुनेछ ।

एसियाली खेलकूदमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा नेपालसहित विश्वकपको अन्तिम १६ सम्मको यात्रा गरिसकेको जापान, भियतनाम र पाकिस्तान छन् । मुख्य प्रशिक्षक योतुकु कोजीले आइतबार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट अन्तिम टोली चयन गरेका थिए ।

एसियाली खेलमा २३ वर्षमुनिका खेलाडीसहित तीन सिनियर खेलाडी खेल्न पाउने छन् । त्यसका लागि किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टिममा राखिएको छ ।

नेपाली टोलीमा गोलरक्षक किरणकुमार लिम्बू, एलान न्यौपाने र सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन् ।

मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, अञ्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ र फरवार्डमा सुनील बल, भरत खवास, सुमन लामा, विमल घर्तीमगर छन् । मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले नेपाली फूटबल टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे ।

सो अवसमा उनले खेलाडीलाई सफलताको शुभकामना दिँदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो । उहाँले एसियाली खेलकूद प्रतियोगिता आगामी वर्ष नेपालमा हुने १३ औँ साफ गेम्सको तयारीका रुपमा रहेकाले यो सहभागिता महत्वपूर्ण रहेको उल्लेख गरे ।

फूटबलको विकासमा मन्त्रालयकोतर्फबाट हुने सहयोगमा कमी हुन नदिने मन्त्री विश्वकर्माले प्रतिबद्धता जनाए । अखिल नेपाल फूटबल संघ (एन्फा) का अध्यक्ष कर्मा्छिरिङ शेर्पाले नेपालले एसियाली खेलकूद प्रतियोगिताका लागि तीन महिनादेखि अभ्यास गरिरहेको बताए ।
(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.