११ कात्तिक, भक्तपुर ।
काठमाडौ उपत्यकाको भक्तपुरका खोतीयोग्य जमीन उर्भरभूमि मानिन्छन् । यही उर्भरताकै कारण विगतमा उपत्यकामा आपुर्ति हुने तरकारीहरु भक्तपुरबाटै धान्ने गरिएको थियो । भक्तपुर क्षेत्रका जमिन धान खेतीका लागि पनि त्यति नै उर्भर भूमि मानिन्छन् । तर विगतका वर्षमा धेरै फलेको भन्दै चाइनिज धान लगाउने भक्तपुरका किसानहरुको यो वर्ष भने उत्पादन शुन्य भएको छ । एक रोपनी जग्गामा आठ दश मुरीसम्म चाइनिज हाईव्रीड धान उत्पादन भएपछि लोभिएका किसान यो वर्ष धानका बाला नै नलाग्दा किसान ठगिएका छन् ।
गतसाता देशभर बाढी–पहिरोले धानबाली नष्ट भएको समाचारले दुःखी बनाएको अवस्थामा भक्तपुरका किसानले लगाएको धानका बालामा दाना नलाग्दा खद्यान्नको अभाव हुने भएको हो । भक्तपुरका किसानले लगाएको धानमा भुस मात्र रहेपछि काठमाडौंको बजारमा धेरै रुचाइएको स्थानीय चामलको अभाव हुने भएको छ भने किसान जीविका नै अफ्ठ्यारोमा पर्ने देखिन्छ ।

भक्तपुरको चाँगुनारायण , सूर्यविनायक , नगरपालिकामा अधिकांस किसानले डी वाई २८ धान लगाएको पाईएको छ । चाइनिज धान डी वाई २८ अघिल्लो वर्ष राम्रो फलेको देखेर यो वर्ष पनि डी वाई २८ लगाएका किसान बढी मर्कामा परेका छन् । ७ रोपनी खेत पूरै परालमात्र भएको सुनाउँदै चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटका किसान विजय लामा र सावित्री श्रेष्ठले बढी फल्ने धान लगाउन पाए हातमुख जोड्न सजिलो हुन्छ भनेर ७ रोपनीमा लगाएको डी वार्ई २८ गेडा नै नलाग्दा अब के खाने भन्ने अवस्थामा आफू पुगेको सुनाए ।
चाइनिज धानको बिउमा स्थानीय रुपमा उत्पादन भएको धान अघिल्लो वर्षको डी वाई २८ मिसाएर व्यापारिहरुले बिक्री गरेको हुनसक्ने कृषक समूह महासंघ भक्तपुर जिल्ला अध्यक्ष टेकबहादुर लाखेले बताए ।
यस्तै नगरकोट क्षेत्रका७० प्रतिशतकिसानले यही धान लगाएकोमा कसैको पनि रोपनीमा एक मुरी भन्दा बढी धान नआउने किसानहरुले बताएका छन् । धानको बिउ किलोको ८५० भन्दा बढी पर्ने भएकाले विचौलियाले व्यापारिको मिलेमतोमा धानको बिउमा मिसावट गरेको किसानहरुले बताएका छन् । किसानहरुले धान नफलेको विषयमा राज्य स्तरबाट नै अध्ययन गर्नुपर्ने माग राखेका छन् ।
धानको बाला नलागेको बोटको जरा सेतो छ बाला लागेको धानको जरा र काण्ड रातो छ यसरी हेर्दा बिउ आयात गर्ने कम्पनीहरुको लापरवाहीले सोझा किसान ठगिएको स्पष्ट हुन्छ । केही वर्ष अगाडी पूरै भक्तपुरमा लगाएको डीवाई ६९ धानमा पनि यसरी नै भुस मात्र लागेको थियो ।