११ कात्तिक, विराटनगर ।
विराटनगर महानगरपालिका र प्रदेश १ लगानी प्राधिकरणको सहकार्यमा विराटनगरमा २५ तल्लाको व्यापारिक कमप्लेक्स बन्ने भएको छ । बुधबार विराटनगर महानगरमा आयोजित कार्यक्रममा महानगर र प्रदेश लगानी प्राधिकरणबीच सो व्यापारिक कमप्लेक्स बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रदेश १ का प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्की ,विराटनगर महानगरका मेयर भीम पराजुली,उपमेयर इन्दिरा कार्की,वडा नं. ९ का वडाध्यक्ष बिश्वनाथ भगत लगायतको उपस्थितीमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा. सरोज कोइराला र महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरे ।
विराटनगर–९ मा रहेको गुद्रिबजार क्षेत्रमा रहेको १४ कट्ठा जग्गामा उक्त व्यापारिक कमप्लेक्स बन्न लागेको हो । परियोजनाको काम आगामी तीन महिनाभित्रै शुरुवात हुने बताइएको छ ।
५ अर्ब भन्दा बढीको लगानीमा बन्ने उक्त कम्प्लेक्समा स्वदेशी लगानीकर्ताहरुकै लगानी रहने जनाइएको छ । व्यापारिक कमप्लेक्स भवन ३ वर्षभित्र बनिसक्ने पनि जनाइएको छ ।