माडीको विकासका लागि अरुलाई भन्दा मलाई बढी चासो छ : अध्यक्ष दाहाल

माडीको विकासका लागि अरुलाई भन्दा मलाई बढी चासो छ : अध्यक्ष दाहाल

११ कात्तिक, चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र रहेको माडीको विकासका लागि अरुलाई भन्दा आफूलाई बढी चिन्ता र चासो रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताए । माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उनको भनाइ छ ।

उनले भने, “ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा म छु ।” फरक प्रसङ्गमा उनले सुकुम्वासी समस्या छिट्टै समाधान हुने बताए। उनले सुकुम्वासीको समस्या समाधान गर्नेतर्फ सरकार लागेको बताए। माडीको बाँदरझुला सुकुम्वासी बस्ती हो । दाहालले भने, “मैले भूमिसुधार मन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई भनिसकेको छु, ठोस कार्य योजना बनाएर लालपूर्जा वितरण गर्नुहोस् ।”

उनले आफूले निर्वाचनको समयमा गरेको वाचा पूरा गर्दै अगाडि बढेको बताए। दाहालले रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदीमा पक्की पुल र सडक कालोपत्रेको काम धमाधम भइरहेको भन्दै सुकुम्वासी बस्ती हनुमानझुलामा बिजुली बत्ती विस्तारका लागि काम गरिरहेको बताए ।

सो अवसरमा दाहालले स्थानीय ज्येष्ठ नागरिकलाई नागरिकता वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादीका नेता नारदमणि पौडेल, प्रमुख जिल्ला अधिकारी आसमान तामाङलगायत बाँदरझुलामा नागरिकता र लालपूर्जाको समस्या समाधान गर्न दाहालसँग आग्रह गरे। रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.