१२ कात्तिक, मकवानपुर ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत) समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे नियुक्त हुनुभएको छ । पाण्डे नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार प्रदेश प्रमुख शर्माले पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश संसदीय दलको नेता छन् । उनी बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् ।
बागमती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेपछि अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार पदबाट राजीनामा दिएकी थिइन् । हिजो बुधवार यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीको बागमती प्रदेशका संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले आजै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेर पदभार समेत सम्हाल्नुका साथै आजै सानो आकारको तीन सदस्यीय मन्त्रिपरिषद् समेत गठन गरेका छन् ।
गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनालले मन्त्रीको शपथ लिएका छन्। मुख्यमन्त्री पाण्डेको सिफारिसमा भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
भ्रष्टाचाररहित कार्यकाल बनाउँछु : मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो कार्यकाल भ्रष्टाचार रहित हुने बताएका छन् । यो सरकारले सुशासन दिने कोसिस गर्ने भन्दै निश्चित अवधि भित्र जनताले राखेको कुरालाई समयमै समाधान गरिने उनले बताए । ’सरकारले समाजवादको कार्यक्रमलाई अघि सारेर अघि बढ्नेछ । सर्वहारा, श्रमजीवी, मजदुर किसान तथा गरिब जनताको पक्षमा प्रदेश सरकारको कार्यक्रम अघि सार्ने छ’ मुख्यमन्त्री पाण्डेले भने । अघिल्लो सरकारको गलत काम र अल्पमतमा सरकार परेपछि रकमसम्बन्धी निर्णय गरेको भए त्यो निर्णय उल्टिने उनले बताए ।
अहिलेको नयाँ सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन केही समय लाग्ने भन्दै मन्त्रालय थप हुने पाण्डेले बताए । मुख्यमन्त्रीको सपथ लिएपछि सञ्चारकर्मीसँगै बोल्दै पाण्डेले केन्द्रमा भएको गठबन्धनको निर्णय अनुसार आफू मुख्यमन्त्री बनेकोले प्रदेश सरकारको नेतृत्व आधा समय या पूरा समय हुने गठबन्धनको निर्णयमा भरपर्ने बताए ।