१२ कार्तिक, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर देशको नेतृत्व गर्ने सपना केपी ओलीका कारण सम्भव नभएको आरोप लगाएका छन्।
शुक्रबार बिहान चितवनमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले देशमा राजनीतिक स्थायित्व र विकासका लागि एमालेसँग पार्टी एकता गरेको भएपनि ओली प्रवृत्तिका कारण समस्या आएको बताए।
’मैले नै राजनीतिक अस्थिरता यो देशले थेग्न सक्दैन अब स्थायित्व चाहिन्छ, समाजवाद उन्मुख विकाशको एउटा मोडल हामीले दिनुपर्छ भनेर एकताको प्रस्ताव राखेको थिएँ,’
प्रचण्डले भने, ’पार्टीभित्र वैचारिक राजनीतिक सांगठनिक सत्ता नेतृत्व जस्ता असाध्यै संवेदनशील विषयमा एउटा सहमति बनाएर नेकपा निर्माण पनि गर्यौ। यसबाट धेरै ठूलो अपेक्षा जनतामा थियो। तर, तीन वर्ष पुग्दानपुग्दै पार्टी भित्र एउटा यस्तो प्रवृत्ति देखापर्यो जुन नेपाली जनताले ७० वर्ष लडेर ल्याएको परिवर्तनलाई उल्ट्याउन खोज्ने प्रवृत्तिको रुपमा प्रकट भयो।’
प्रचण्डले ओली प्रवृत्ति एउटा निरंकुश, एकाधिकारवादी, प्रतिगामी भएको बताए। ओली प्रवृत्तिविरुद्ध सडकमा जानु पर्ने अवस्था बनेको भन्दै प्रचण्डले देशलाई समृद्ध गर्ने सपना ओली प्रवृत्तिका कारण सम्भव नभएको बताएका हुन्।
’हामीले सपनाहरु जे देखेका थियौं, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर देशको नेतृत्व गर्ने भन्ने त्यो सपनालाई ओली प्रवृत्तिका कारण पूरा गर्न सम्भव भएन’ प्रचण्डले भने।
प्रचण्डले आफूहरु उदार भएर पार्टी एकता कायम राख्न दौडधूप गरेको भएपनि सम्भव नभएको बताए।
’हामी धेरै उदार भएर पार्टी बचाइराख्न दौडधुप ग¥यौं,’ प्रचण्डले भने, ’हामीले संवैधानिक र कानुनी व्यवस्था, मूल्य–मान्यता अनुसार पार्टीभित्र देखा परेको ओली प्रवृत्ति विरुद्ध संघर्ष गर्ने र त्यसलाई पराजित गर्ने कोशिश गर्यौं।’