२० महिनापछि नेपाल-भारत मैत्री बस पुन: सञ्चालन

२० महिनापछि नेपाल-भारत मैत्री बस पुन: सञ्चालन

१२ कात्तिक, कञ्‍चनपुर।

कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल-भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा आएको छ ।

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका मैत्री बस शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले बताए । त्यस्तै उत्तर प्रदेश परिवहन निगमको बस भारतको राजधानी जिल्लाबाट यात्रुसहित आज बिहान महेन्द्रनगर पुगेको यातायात प्रालिले जनाएको छ ।

‘सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी बस नेपाल भित्रिएको हो’, उनले भने, ‘स्वास्थ्य सतर्कता हाम्रै लागि हो।’ उनले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले सङ्क्रमणबाट बच्न मास्क लगायतका स्वास्थ्य सामग्री प्रयोग गर्न आग्रह गरे ।

गड्डाचौकी नाकाबाट स्थानीय प्रशासनले भारतीय यातायात भित्रिँदा आउने यात्रुले कोरोना खोप लगाएको कार्ड र पछिल्लो ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट हेर्ने गर्छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्वास्थ्य मापदण्डका साथै भारतीयलाई परिचय खुल्ने कागजात र भन्सार तिरेर मात्रै आउन दिइएको जनाएको छ ।
महाकाली यातायात प्रालिले यहाँबाट हरेक दिन नेपाल–भारत मैत्री बस सञ्चालन हुने जनाएको छ । कोरोना सङ्क्रमण फैलिनुअघि महेन्द्रनगरबाट भारतको दिल्ली र देहरादुन गरी दैनिक नौवटा बस सञ्चालनमा थिए । लामो समय यातायात सेवा कोरोनाका कारण प्रभावित हुँदा यहाँका यातायात व्यवसायी नराम्ररी प्रभावित बनेका छन् ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.