‘जनकारबाही’ भन्दै सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई चप्पलले पिटे

‘जनकारबाही’ भन्दै सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई चप्पलले पिटे

१२ कात्तिक, जनकपुरधाम ।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले ‘जनकारबाही’ भन्दै धनुषाका एक प्रधानाध्यापकलाई दुर्व्यवहार गरेका छन्। धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापक वैजु साहलाई चप्पलले पिटेका हुन्।

जनमत पार्टीका कार्यकर्ताले विभिन्न मागसहित पछिल्लो चार दिनदेखि आन्दोलित विद्यार्थीहरुको माग सुनुवाई नगरेको भन्दै  शुक्रबार कुटपिट गरेका हुन्।

धनुषाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार साहलाई विद्यालय जाँदै गरेको अवस्थामा जनमत पार्टीनिकट विद्यार्थी, कार्यकताले चप्पलले कुटेका थिए। विद्यार्थीले लछारपछार गर्दै हातपात गरेपछि प्रधानाध्यापक साह मोटरसाइकलमै भागेका थिए।

नियमित पठनपाठन हुनुपर्ने र शिक्षकको व्यवस्थापन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरूले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरूले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामग्री विद्यालयमै राख्नुपर्ने र विद्यालय सुधारका लागि सरोकारवालाको बृहत् भेला गरी अन्य विषयमा निर्णय लिनुपर्ने मागसहित विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।

यस अघि सिके राउतका कार्यकर्ताले जनकारबाही भन्दै खानेपानी तथा ढल निकासका हाकिम राजेस्वर कुशवाहालाई कुटपिट तथा दुर्व्यवहार गरेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.