१३ कात्तिक, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्या नेपालमा पर्ने बताएका छन् । शनिबार ललितपुरमा पुस्तक विमोचन समारोहमा उपस्थित भएर मन्तव्य राख्ने क्रममा अध्यक्ष ओलीले रामको जन्मभूमि अयोध्या भारत नभई नेपालमै पर्ने दाबी गरकेा हुन् ।
प्रधानमन्त्री रहँदा राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा विवादमा तानिएका ओलीले विगत सम्झेर त्यतिबेला यस विषयमा ठूलै बबन्डर मच्चिएको पनि स्मरण गरे । उनले भने, ‘राम जन्मभूमि अहिले नेपालमा पर्छ, फैजावादलाई अयोध्या भनेको झुटो हो । त्यो सही कुरा होइन भन्दाखेरि कत्रो उत्पात ?’
ऋषिमुनी, रामलगायतको जन्म नेपालमा भएको भन्दा छिमेकी राष्ट्र भारतले पीर गर्ने गरेको पनि ओलीले बताए । प्रधानमन्त्री पदमा बहाल रहँदा २०७७ असारमा ओलीले रामको जन्म नेपालको चितवनस्थित ठोरीको अयोध्यामा भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति नेपाल र भारतबाट टीकाटिप्पणी र आलोचना भएपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा ठेस पुर्याउने आशयमा व्यक्त नभएको बताएकाे थियाे ।