चुच्चे नक्सामा समेटिएका क्षेत्रका जनगणना कसरी गर्ने ?

चुच्चे नक्सामा समेटिएका क्षेत्रका जनगणना कसरी गर्ने ?

कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा कुटी, नाभी, गुन्जी, तिंकर र छाङ्रूको जनगणनासमेत गर्न सहज देखिएको छ। जाडो बढेसँगै दार्चुला ती क्षेत्रका स्थानीयवासी बेंसी सर्ने भएकाले जनगणना गर्न कठिन नहुने सीमा अध्येता रतन भण्डारी बताउँछन्। चुच्चे नक्सामा दार्चुलाका लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएपछि ती क्षेत्रका गाउँमा कसरी जनगणना गर्ने भन्ने अन्योलता थियो।

भण्डारीका अनुसार ब्यास क्षेत्रका ब्यासीसौका सपरिवार कात्तिकपछि जाडो छल्न कुटी, नाभी, गुन्जी, तिंकर, छाङ्रुबाट दार्चुलाको खलंगा, बांगाबगर, जोलजीवी, लेकम, दुम्लिन–राप्ला, सितौला, देथला, धुलीगडा, असिगडा झर्ने गर्छन्। उनीहरू बेंसी झरेको स्थानमा टोली पठाएर जनगणना गर्न सकिने भण्डारी बताउँछन्।

बसाइँ सर्नुलाई उनीहरू ‘कुन्चा’ जानु भन्दछन्। गर्मी सुरु भएपछि अर्थात् चैतको सुरुमै उनीहरू ब्यास (घर) फर्कछन्। यसरी ब्यास फर्कनुलाई ‘सौकेडा’ फर्कनु भन्छन्। भण्डारीका अनुसार सदरमुकाम दार्चुला, बाँगाबगर, जोलजीवी, लेकमलगायतका ठाउँबाट ब्यास समुदायको लगत लिनुपर्ने हुन्छ। ‘दार्चुलाको ब्यासमा मात्र होइन, मनाङ, मुस्ताङका थकाली समुदाय पनि हिउँदमा पोखरा र म्याग्दीतिर बसाइँ सर्छन्।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले भारतद्वारा अतिक्रमित क्षेत्रको जनगणनाका लागि परराष्ट्र मन्त्रालयमा पत्रमार्फत अनुरोध गरिएको बताए। तर, केही जवाफ नआएको उनको भनाइ छ। उनले भने, ‘भौतिक उपस्थितिमा भने असम्भव छ तर पनि कुनै उपाय लगाएर जनगणना गर्नेबारे विभागले सोच बनाएको छ।’, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.