कर्णाली सरकारकी प्रवक्ता भन्छिन्- तीन मन्त्रीले राजीनामा दिनुहुन्छ , त्यसपछि अरु सल्लाह गर्छौं

कर्णाली सरकारकी प्रवक्ता भन्छिन्- तीन मन्त्रीले राजीनामा दिनुहुन्छ , त्यसपछि अरु सल्लाह गर्छौं

१५ कार्तिक, काठमाडौं ।

कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले नेकपा एकीकृत समाजवादीबाट सहभागी तीन मन्त्रीले आज राजीनामा दिने बताएकी छिन्।

तत्कालीन एमाले सांसदबाट कारबाहीमा परेका भौतिक पूर्वाधार मन्त्री अमरबहादुर थापा, उद्योग मन्त्री नन्दसिंह बुढा र भूमि मन्त्री कुर्मराज शाहीले संवैधानिक रुपमा मन्त्री हुन नमिल्ने भएपछि राजीनामा दिन लागेका हुन्। उनीहरू गैरसांसदका रुपमा मन्त्री बनेको सोमबार ६ महिना पुगेको छ।

‘आज एकीकृत समाजवादीबाट मन्त्री भएका तीन जनाले राजीनामा दिनुहुन्छ। त्यसपछि रिक्त मन्त्रीको विषयमा के गर्ने भन्ने विषयमा सल्लाह गर्छौं। त्यसपछि मात्रै भन्न सकिन्छ’ नेपालीले भनिन्, ‘अब प्रदेश सरकारका विषयमा कांग्रेसलाई सत्ता छोड्ने वा मन्त्रिपरिषद् पुनर्गठन गर्ने? त्यो सबै सल्लाहमा गर्नेछौं।’

उता, नेपाली कांग्रेसले आजै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुपर्ने बताउँदै आएको छ। माओवादी र कांग्रेसबीच कात्तिक १५ गते सत्ता छोड्ने लिखित सहमति भएकाले आजै राजीनामा दिनुपर्ने कांग्रेस नेताहरुले बताउँदै आएका छन्।

माओवादीले कर्णाली प्रदेश सरकारबाट राजीनामा नदिए आफ्नो पार्टीले समर्थन फिर्ता लिने कांग्रेसको चेतावनी छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.