महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ : नेता सिटौला

महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ : नेता सिटौला

१५ कार्तिक, काठमाडौं ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले दीपावली, नेपाल सम्वत एवं छठपर्वको अवसरमा आज मनमैजुमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान एवं चियापान’ कार्यक्रममा उनले पार्टीको आगामी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन नेता तथा कार्यकर्तालाई आग्रह गरे।

‘हामी महाधिवेशनको क्रममा छौं, पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुस्, कसैको दबाबमा नपर्नुस्, आफ्नो विवेक सही ढङ्गले प्रयोग गर्नुस्, प्रतिस्पर्धाको परिणाम सबैले स्वीकार्नुस्, त्यसो हुँदा पार्टी बलियो हुन्छ,’ नेता सिटौलाले भने।

पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले न्यायालयभित्रको झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि प्रहार गर्ने भन्दै चिन्ता व्यक्त गरे।

‘कांग्रेसले मुलुकमा देखिएका जुनसुकै समस्याको पनि समाधान गरेको छ, आवश्यक परे न्यायालयको झगडामा पनि समाधान दिन सक्छ,’ उनले भने।

संविधानले देशको विकासको मोडललाई परिवर्तन गरेको भए पनि अघिल्लो सरकारले संविधानले दिएका विषय अँगाल्न नसक्दा सरकार परिवर्तन भएको उनले उल्लेख गरे।

कांग्रेस नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनपछिको परिणाम स्वीकार नगर्दा विगतमा कांग्रेस कमजोर बनेको बताए। उनले पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्नेमा जोड दिए।

कांग्रेस तारकेश्वरका सभापति कृष्णहरि महर्जनले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य नभएसम्म कांग्रेस बलियो हुन नसक्ने ठोकुवा गरे। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकालाई स्वागत गरिएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.