१६ कात्तिक, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले यसपालिकाे तिहारमा विद्युतकाे माग धान्न कुनै समस्या नपर्ने बताएकाे छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले मागअनुसार विद्युत् दिन कुनै समस्या नरहेकाे बताएको छ ।
प्राधिकरणले आगामी कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौमा प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको भन्दै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या नपर्ने बताए ।
घिसिङले भने, ‘अहिले पनि हाम्रो आन्तरिक उत्पादन दिनमा २ सय मेगावाट र रातिमा ५ सय मेगावाटसम्म मागभन्दा बढी छ । त्यसैकारण जति विद्युतको माग आएपनि हामी तिहारमा उपभोक्तालाई बिजुली दिन्छौं ।’
उनले ग्राहकलाई ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘बाहिर प्राधिकरणले सो दिनमा मागअनुसार बिजुली आपूर्ति गर्न सक्दैन कि भन्ने आंशका छन्। तर, हामी जति माग आएपनि त्यसको व्यवस्थापनका लागि सक्षम छौं ।’
घिसिङले २०७३ सालको लक्ष्मी पूजाकै दिनमा काठमाडौंमा लोडसेडिङ हटाउने योजनाको परीक्षण गरेका थिए ।