१६ कात्तिक, पोखरा ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्री भएको साढे चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले नियुक्त भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान रहे पनि मन्त्री गुरुङले साढे चार महिनापछि मात्र सम्पत्ति विवरण पेश गरेका हुन् ।
उनले अर्कैको नाममा जग्गा रहेको देखि आफू ऋणमा रहेको विवरण सार्वजनिक गरेका छन् । मन्त्री गुरुङले सम्पत्ति पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिएको र आफु डेढ करोड ऋणमा रहेको विवरण पेश गरेका छन् ।
२०७० सालमा अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा समेत खेप्नु भएका मन्त्री गुरुङले युवा साथीहरूको नाममा आफूले थुप्रै लगानी गरेको समेत उल्लेख गरेका छन् ।
उहाँले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौँ–२९ धर्मस्थलीमा प्रतिआना ९ लाख रुपैयाँमा किनेको कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको उल्लेख गरेका छन् ।
चन्द्रागिरि–२ मा ३ रोपनी जग्गा, पदमपोखरी मकवानपुरमा एक रोपनी ९ आना १० दामको जग्गा छोराको नाम र अन्य व्यक्तिको नाममा रहेको पनि उल्लेख गरेका छन् । उनले २२ तोला सुन र ४५ तोला चाँदी वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट प्राप्ति गरेको उल्लेख पनि गरेका छन् । मन्त्री गुरुङले एभरेष्ट बैङ्क पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ रकम रहेको विवरण पेश गर्दै उक्त पैसा सांसद र मन्त्री हुँदा प्राप्त गरेको बताएका छन् ।
उनले ६ करोड १० लाख रुपैयाँ ऋण लिएर ४ करोड ७० लाख रुपैयाँ तिरेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री गुरुङले विभिन्न स्थानमा गाई तथा भैँसी फर्म पनि रहेको उल्लेख गरेका छन् ।