१६ कात्तिक, विराटनगर ।
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो सरकारको पहिलो प्राथमिकता प्रदेशको नामकरण भएको बताएका छन् । मंगलबार पद तथा गोपनियताको शपथ ग्रहणपछि सञ्चचारकर्मीहरूसँगको कुराकानीमा मुख्यमन्त्री राईले आफ्नो प्रमुख प्राथिमकता प्रदेशको नामकरण भएको बताएका हुन् ।
उनले राम्रो गर्ने, नराम्रो नगर्ने, नाम राख्ने र काम गर्ने प्रदेश सरकारको प्राथमिकता रहेको बताए । उनले भने, ‘प्रदेशले अहिलेसम्म नाम पाउन नसकेकोले त्यो नाम हामी दिन्छौं । बजेट सानो भएकोले विकासको कामहरु हुन सकेको छैन, अनुदान लिएर र बजेटका नयाँ स्रोतहरु खोजेर बजेटको दायरा बढाएर कामलाई अघि बढाउँछौं ।’
उनले सीमित बजेटलाई सही प्राथमिकता दिएर विनियोजन गर्ने बताए । यस्तै,मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । उनले कात्तिक २५ वा २६ गतेसम्ममा विश्वासको मत लिने बताएका हुन् ।
उनले काम र सरकारमा सहभागी गठबन्धन दलको आवश्यकताका आधारमा मन्त्रालयको संख्या केही बढाएर मन्त्रिपरिषद् विस्तार गरिने पनि बताए ।