तिहारमा दिदी–बहिनीलाई सुझाव– भाइ मसलामा के–के समावेश गर्ने ?

तिहारमा दिदी–बहिनीलाई सुझाव– भाइ मसलामा के–के समावेश गर्ने ?

१८ कार्तिक, काठमाडौं ।

भाइटीकामा दिन दिदी–बहिनीहरूले आफ्ना दाजु–भाइलाई टीका लगाएर उपहारको रुपमा ’भाइ मसला’ दिने गर्छन्। भाइमसलामा बदाम, काजु, किसमिस, ओखर, कट्टुस लगायतका ड्राइ फ्रुट्सहरु हुन्छन्।

तर, पछिल्लो समय दिदीबहिनीहरुले चक्लेट, मिठाइ लगायतका अन्य बजारीया (गुलिया) उत्पादन पनि भाइ मसलामा समावेश गर्ने गरेका छन्। त्यसो त अहिले बजारमा ’रेडिमेड’ भाइमसलाका प्याकेटहरु पनि पाइन्छन्।

तर, चिकित्सकहरु भने बजारका रेडिमेड भाइ मसलाका प्याकेटहरु किन्नुभन्दा ’ड्राइ फ्रुट्स’हरु किनेर आफैं तयार गर्न सुझाव दिन्छन्। आफ्ना दाजु–भाइको दीर्घ आयुका लागि दिदी–बहिनीहरुले स्वास्थ्यलाई बढीभन्दा बढी फाइदा पु¥याउने सुख्खा फलहरु किनेर दिन चिकित्सकको सुझाव छ।

बजारमा पाइने मिठाइ, चक्लेट र अन्य गुलिया चिजभन्दा बदाम, हाडेबदाम, काजु, किसमिस, ओखर, कट्टुस लगायतका ड्राइ फ्रुट्स समावेश गरेर भाइ मसला तयार गर्नु उपयुक्त हुन्छ।

अनुसन्धानकर्ताहरूका अनुसार बदाम, हाडेबदाम, ओखर, कट्टुस लगायत नट्सले हृदयघात र मस्तिष्कघातको जोखिम न्यून पार्छ। उनीहरू यस्ता खानेकुरा सकेसम्म खान सुझाब दिन्छन्।

हप्तैपिच्छे थोरै–थोरै मात्रामा निकैपल्ट यस्ता सुख्खा फलफूल खानाले हृदयघात र मस्तिष्कघातको जोखिम घट्ने विभिन्न अध्ययनले देखाएका छन्। नट्समाथि हालै गरिएको एउटा अध्ययनले पनि यस्तै निष्कर्ष निकालेको थियो।

हार्भर्ड टिएच चान स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताले २ लाख १० हजार व्यक्ति समावेश गरी ३२ वर्ष लगाएर गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। अनुसन्धानकर्ताहरूले यस्ता नट्स (विभिन्न किसिमका बदाम) को उपभोगको मात्राले कार्डियोभास्कुलर डिजिजको जोखिम घटाउने पत्ता लागेको बताएका छन्।

नियमित रूपमा नट्स खानेहरूलाई कहिल्यै नखाने वा आक्कलझुक्कल खानेको तुलनामा कार्डियोभास्कुलर डिजिज वा कोरोनरी हार्ट डिजिज लाग्ने जोखिम निकै कम हुने पोषणकी रिसर्च फेलो डा मार्टा गुस फेरेले बताइन्। उनका अनुसार नट्स नखानेको तुलनामा सातामा ५ वा बढी पटक नट्स खानेलाई कार्डियोभास्कुलर डिजिजको जोखिम १४ प्रतिशत र कोरोनरी डिजिजको जोखिम २० प्रतिशत न्यून हुन्छ।

अनुसन्धानकर्ताले हरेकपल्ट २८ ग्राम वा एक औंस नट्स खाँदा कार्डियोभास्कुलर डिजिजको जोखिम ६ प्रतिशत र कोरोनरी डिजिजको जोखिम १३ प्रतिशत न्यून हुने पत्ता लगाएका हुन्। सातामा कम्तिमा पनि ४ देखि ७ पल्टसम्म २८ ग्रामका दरले नट्स खान फेरेले सुझाएकी छिन्।

नट्सलाई धेरै समयअघिदेखि नै स्वस्थकर खानेकुराका रूपमा लिने गरिएको थियो। नट्समा प्रोटिन मात्र नभएर स्वस्थकर फ्याट र मुटुका लागि आवश्यक अन्य पोषक तत्व पनि पाइन्छन्। नट्समा रगतमा कोलेस्टेरोल घटाउने मुटुका लागि स्वस्थ (मोनोस्याचुरेटेड) फ्याट पाइन्छ।

नट्समा फाइबर र शरीरमा जलन न्यून पार्ने तथा मुटुलाई जोगाउने अन्य पोषक तत्व पनि पाइने युनिभर्सिटी अफ साउथ फ्लोरिडाकी पब्लिक हेल्थ असिस्टेन्ट प्रोफेसर डा लरी राइटले बताइन्। उनका अनुसार थोरै मात्रामा खाइने नट्सले पनि स्वास्थ्यमा फाइदा गर्छ।

उनले भनिन्, ‘अध्ययनले एक औंस (२८ ग्राम) नट्स (हाडे बदाम, काजु, ओखर र बदाम लगायत) खानु अत्यन्त स्वस्थकर हुन्छ।’

नट्समा पाइने डाएटरी फ्याटले कोष वृद्धिमा सघाउँछ र शरीरलाई ऊर्जा दिन्छ। नट्सले शरीरमा केही पोषक तत्व सोस्न समेत सघाउँछ, जसबाट निश्चित हर्मोन उत्पादन हुन्छ र विभिन्न अंगको सुरक्षा गर्छ।

हार्भर्डको समूहले गरेको अध्ययनले बदाम, ओखर, पेस्ता, हाडेबदाम, काजु र ह्याजलनटले कार्डियोभास्कुलर र कोरोनरी डिजिजको जोखिम कम गर्ने देखाएको हो। त्यसैगरी बदाम र ओखर खाए मस्तिष्कघातको जोखिम समेत कम हुने पाइएको छ।

चकलेटमा हालिएका, नुन मिसाइएका वा भुटिएका नट्स खानुभन्दा सादा नट्सले बढी फाइदा गर्छ। किनभने अरु कुरा र नुन मिसाइएका नट्समा सोडियम (नुन) र सुगर (चिनी)को मात्रा धेरै हुन्छ, जसले मुटुलाई हानि पु¥याउँछ। पोषणविदहरू यसको साटो मसला वा जडीबुटीजन्य वनस्पतिका पात, मह वा सुन्तलाजस्ता फलफूलसँग स्वाद लिएर नट्स खान सुझाव दिन्छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.