१८ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने बताएका छन्। प्रधानमन्त्री देउवाले गठबन्धनमा कुनै समस्या नरहेको पनि स्पष्ट पारे।
संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर बिहीबार स्वदेश फर्किएका देउवाले सर्वोच्च अदालतमा अहिले देखिएको विवादका विषयमा भने कुनै प्रतिक्रया जनाएनन्।
प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई अहिले नआत्तिन आग्रह गरेको बताए।
अहिले संघीय संसद्को चालु अधिवेशन अर्कै कारणले स्थगित भएको भन्दै देउवाले एमसीसीका डेपुटी सीईओलाई सम्झौताको विषयलाई लिएर नआत्तिन भनेर आग्रह गरेको बताए।
प्रधानमन्त्री देउवाले कोप २६ सम्मेलनका क्रममा विश्वका नेताबाट राम्रो सद्भाव पाएको बताए। देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग राम्रो कुराकानी भएको बताए।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फलदायी कुराकानी भएको बताए। भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिँदै देउवाले नेपालप्रति भारतीय सद्भाव बढेको पाएको पनि दाबी गरे।
भारतीय प्रधानमन्त्री मोदीले आफूलाई पनि भारत भ्रमणको निम्तो दिएको देउवाले जानकारी दिए।