१८ कार्तिक, काठमाडौं ।
जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन (कोप–२६) मा सहभागी भएर प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बिहान स्वदेश फर्केका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले भ्रमण उपलब्धीमुलक रहेको बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटबारे प्रष्ट्याउँदै उनले आफूलाई बाइडेनले टोपीबाट आफैँ चिनेको बताए । ‘बाइडेनसँग विशेष रूपमा भेट भयो । म टोपी लगाएर गएको थिएँ, देखेपछि चिनिहाले । पहिले नेपाल आएका पनि रहेछन्। नेपाल खुब मनपर्छ भने ।’
बेलायती समकक्षी बोरिस जोन्सनलाई नेपालबारे जानकार पाएको उनले बताए । यस्तै, भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको उनले जानकारी दिए । प्रत्युत्तरमा मोदीले पनि प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्ता दिएका थिए ।
‘उहाँलाई मैले नेपाल भ्रमणमा आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ । तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ नेपालमा आउनूस् भनेँ,’ प्रधानमन्त्री देउवाले भने, ‘उहाँ आउन तयार छु भन्नुभएको छ ।’
अर्को प्रसंगमा सत्तारुढ गठबन्धन पूरै समयसम्म चल्ने बताए । आगामी चुनावसम्मै यही गठबन्धन रहने उनले बताए ।