१८ कात्तिक, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन मिलेर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउने बताएका छन् ।
बिहीबार स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर नेपाल फर्केका देउवाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्ताे बताएका हुन् । उनले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी संसदबाट अनुमोदनको बारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको प्रस्ट पारे ।
ग्लास्गोमा उनीहरु बीच मंगलबार भेटवार्ता भएको थियो । प्रधानमन्त्री देउवाले भने, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउछौं भनेर पत्र पठाइसकेका छौं ।’
उनले एमसीसीकी ल्याटोर्तुलाई आफूहरुले सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिबद्धता गरिसकेको उल्लेख गर्दै अहिलेको संसद् अधिवेशन अन्त्य अर्कै कारणले गरिएको जानकारी दिएको बताए । देउवाले ल्याटोर्तुले कहिलेसम्म संसद्बाट सम्झौता पास गर्नु हुन्न भन्ने जिज्ञाशा राखेको जानकारी दिए । जवाफमा अब छिटै पत्रकार सम्मेलन गरी एमसीसी पास गर्ने बताएको जानकारी दिए ।