गगन थापालाई ओलीकाे जवाफ : एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै काग्रेस कहाँ गयो ?

गगन थापालाई ओलीकाे जवाफ : एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै काग्रेस कहाँ गयो ?

१८ कात्तिक, काठमाडाैँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोहीले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताएका छन् ।

बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कुनै एक व्यक्तिले चाहँदैमा नेकपा एमाले सिध्याउन नसक्ने बताएका हुन् । उनले नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न आग्रह गरे । अध्यक्ष ओलीले काँग्रेस नेता थापाले भक्तपुरको एक कार्यक्रममा केही दिनअघि आगामी चुनावमा भक्तपुरबाट क्लिन स्विप गर्ने कुराको उत्तर दिँदै अध्यक्ष ओलीले काँग्रेस कहाँ पुग्यो भन्ने कुराको विचार गर्न आग्रह गरे ।

अध्यक्ष ओलीले भने, ‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुर तिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्, भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै काग्रेस कहाँ गयो, भ्याकुम क्लिनर रे एमाले सिध्याउने सपना तिनीहरुका, म त्यसमा अरु केही भन्न चाहन्न ।’

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाललाई कुरु क्षेत्र बनाउने सपना नदेख्न पनि आग्रह गरे । उनले सत्र हजार नेपाली जनतालाई मारेको र त्यसलाई ठेगान लगाएरै एमालेले सरकार चलाएको अवगत गराउँदै नेपाललाई धर्म क्षेत्र, शाीन्त क्षेत्र, विकास क्षेत्र बनाउने बताए । अध्यक्ष ओलीले कुरुक्षेत्र बनाउने भनेर तर्साउन खोज्नेहरुलाई पराजित गरेरै यहाँसम्म आइपुगेको बताए ।

अध्यक्ष ओलीले भने, ‘एक जनाले अस्ति कुरुक्षेत्र बन्छ अब भने कुरुक्षेत्र बनाएको पनि देखियो, कुरु क्षेत्र सबै ठेगान पनि लाइयो, अब कसैले कुरु क्षेत्रका धाक नलगाए हुन्छ, नेपाल नै अब धर्म क्षेत्र हुन्छ, विकास क्षेत्र हुन्छ, यो शान्ति क्षेत्र हुन्छ, यो जनताको समृद्धिको क्षेत्र हुन्छ, समृद्ध नेपाल सुखी नेपाली भएको क्षेत्र हुन्छ नेपाल, के को कुरुक्षेत्र ? कुरुक्षेत्र बनाउने भनेर कतिले धाक लगाएका छन्, के भनेको कसलाई तर्साएको अहिले ? हामीले कुरु क्षेत्र बनाएको हेर्यौं, सत्र हजार मान्छे मारेको हेर्यौं, ढुंगामा राखेर बञ्चरोको पासोले मान्छेको हड्डी फोरेको पनि हेर्यौं, काठ घोच्ने बर्माले मान्छेको शरीरमा घोपेको पनि हेर्यौं, ती सबै अत्याचार पराजित गरेर हामी आएका छौँ, त्यसैले हामीलाई कुरु क्षेत्रको धाक नलगाए पनि हुन्छ, हामी त्यस्ता कुराको वास्ता पनि गर्दैनौँ, हामीलाई देश बनाउने कुरासँग सरोकार छ, उहाँको मनस्थिती एकदमै डगमगाएछ, गणतन्त्रै फाल्छु भन्यो ओलीले भन्नुभएछ, पुष्पकमल दाहालले गणतन्त्र भन्नुभन्दा २५ वर्षअघि हामीले गणतन्त्रको अभियान थालेका थियौँ ।’

अध्यक्ष ओलीले आफूलाई माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्र सक्न खोजेको आरोप लगाएकोप्रति लक्षित गर्दै प्रचण्डले गणतन्त्रको नाम लिनुभन्दा २५ वर्षअघि गणतन्त्रका लागि आफू लडेको बताए। उनले प्रचण्डलाई कुरुक्षेत्रको धाक नलगाउन पनि आग्रह गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.